Tuesday, May 26, 2026

गगनको अभिव्यक्ति ट्रोलप्रति विश्वप्रकाशको प्रतिक्रिया

ताजा / भरखरै प्राप्त

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापाको अभिव्यक्तिमाथि गरिएको ट्रोलको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले गगनको नाम नलिई मिथ्या सूचनाबाट मत परिवर्तन गर्न सकिन्छ भन्ने भ्रम उपनिर्वाचनले तोडेको उल्लेख गरेका छन्।

महामन्त्री शर्माले उपनिर्वाचनको प्रारम्भिक समीक्षा सार्वजनिक गर्दै उत्तेजनाको राजनीतिले सधैं परिणाम नदिने सन्देश गएको बताएका छन्। शर्माले मंगलबार जारी गरेको विज्ञप्तिमा भनेका छन्, “उपनिर्वाचनमा आवेग र उत्तेजनाको राजनीति देखियो। गलत र भ्रमपूर्ण सूचनाको बलमा मन र मत जित्न सकिने भ्रम पराजित भएको छ। निराशालाई मतमा बदल्न खोज्ने प्रवृत्तिसँग सजग रहँदै काममार्फत विश्वास जगाउने र सामाजिक सञ्जालमा फैलाइएका भ्रम चिर्न पार्टीपंक्तिले विशेष सतर्कता अपनाउन आवश्यक छ।”

शर्माले उपनिर्वाचनमा सामाजिक सञ्जालमार्फत सक्रिय भएका युवाहरूलाई धन्यवाद दिएका छन्। उनले चुनावी आग्रह र पूर्वाग्रहबाट मुक्त भएर जनप्रतिनिधिलाई आफ्नो भूमिकामा सक्रिय रहन आह्वान पनि गरेका छन्।

“चुनावी दौड सकिएको छ। अब सबै तितामिठा भुलेर काममा जुट्न आग्रह गर्दछु। सबै विजयीलाई पूर्वाग्रह मुक्त भई जनताको सच्चा प्रतिनिधिका रूपमा कार्य गर्न शुभकामना व्यक्त गर्दछु,” शर्माले भनेका छन्।

उनले निष्पक्ष निर्वाचन सम्पन्न गराउने सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, र सञ्चारकर्मीप्रति पनि आभार प्रकट गरेका छन्।

मंसिर १३ गते कीर्तिपुरमा चुनावी सभाका क्रममा थापाले दिएको अभिव्यक्तिमाथि सामाजिक सञ्जालमा ट्रोल गरिएको थियो। शर्माले यस विषयलाई लिएर सामाजिक सञ्जालका भ्रमहरूको सामना गर्न पार्टीलाई सतर्क रहन आग्रह गरेका छन्।

spot_img

लोकप्रिय

Related Articles