बाजुरा – बाजुरामा गएरातिदेखि वर्षासँगै हिमपात सुरु भएको छ। मौसम बदलीसँगै लेकाली भेगमा हिमपात हुँदा जिल्लाभर चिसो बढेको छ।
हिमाली गाउँपालिकाको बिच्छ्या, रुगिन, बाँधु, स्वामीकार्तिकको जुकोट, र जगन्नाथ गाउँपालिकाको गोत्री क्षेत्रमा हिमपात भएको छ। स्थानीय जयप्रसाद पाण्डेका अनुसार लेकका डाँडाहरू सेताम्मे भएका छन्।
धार्मिक र पर्यटकीय क्षेत्र पनि सेताम्मे
गौमुलको दहकोट, मानाकोट, बूढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदहको काँडा, जयबागेश्वरी, बडीमालिका, रजाली, मार्तडी, ढम्कने लगायतका उचाइमा रहेका क्षेत्रमा पनि हिमपात भएको छ।
बडीमालिका, पोरखे लेक, कालाजग्रा, दह डाँडा, बडालेख, र खप्तड राष्ट्रिय निकुञ्जजस्ता धार्मिक र पर्यटकीय स्थलहरू पनि हिमपातले सेताम्मे भएका छन्। सदरमुकाम मार्तडी आसपासका क्षेत्रहरूमा समेत हिमपात भएको बडीमालिका–३ का स्थानीय कमल रावलले जानकारी दिए।
कृषक खुसी
हिमपातसँगै भएको वर्षाले कृषकलाई राहत दिएको छ। गहुँबालीमा पानीको अभाव हुँदा सुक्न थालेको समयमा आएको वर्षाले किसान खुसी भएका हुन्। कृषि ज्ञान केन्द्र बाजुराले पानीले बाली सुधारिने विश्वास व्यक्त गरेको छ।
डोटीमा पनि हिमपात
यसैबीच, डोटीको बडिकेदार गाउँपालिकामा पनि हिमपात भएको छ। हिमपातले बस्तीहरू सेताम्मे भएका छन्। वर्षा र हिमपातपछि किसानले खेतीपाती राम्रो हुने आशा गरेका छन्।

