Tuesday, May 26, 2026

कमिशन उठाउनु रहर हैन बाध्यता हो – निमित्त कार्यालय प्रमुख साह

ताजा / भरखरै प्राप्त

पूर्वाधार बिकास कार्यालय बाट हुने बिकास निर्माणको कार्यमा मन्त्रालयका मन्त्री र हाकिमले कमिशन खोजेपछि योजनाहरु बाट बाध्य भएर कमिशन लिनु परेको पूर्वाधार बिकास कार्यालय बाराका निमित्त कार्यालय प्रमुख राजेन्द्र साहले बताएका छन् ।

त्यहीं बाध्यताका कारण निमित्त कार्यालय प्रमुख साहले अहिले नातामा पर्ने दुई भाई दिपेन्द्र साह र राजेश साहलाई ईन्जिनियर पदमा करार नियुक्त गरी उनकै मार्फत महेन्द्र नारायण निधि आवास कार्यक्रम अन्तर्गत जनता आवास निर्माण नगरी फर्जि बिल भरपाईको अधारमा भुक्तानी गरी २० प्रतिशत कमिशन उठाउन लगाएको स्रोतको दाबि रहेको छ । साथै चालु आर्थिक वर्ष देखि मदन भण्डारी आवास कार्यक्रम सँचालन हुने भएकोले सेवाग्राहीहरुबाट दुबै ईन्जिनियरलाई खटाएर अग्रिम कमिशन समेत उठाईरहेको स्रोतको दाबी रहेको छ।

निमित्त कार्यालय प्रमुख साहले कमिशन आउने फाईलको भुक्तानी दिने तथा कमिशन नआउने फाईललाई थन्काएर राख्ने गरेको नाम उल्लेख नगर्ने शर्तमा ठेकेदारहरुले पिएसआर खबरलाई जानकारी दिएका छन् ।

निमित्त कार्यालय प्रमुख साहको अनियमितताको बारेमा केहि दिन पहिला मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशको सदनमा नै निमित्त कार्यालय प्रमुख साह भ्रष्टाचारमा लिप्त भएको जानकारी गराएका थिए । साथै पुर्व मुख्यमन्त्री यादवले आफ्नो कार्यकालमा गढीमाई मेला लक्षित गढीमाई क्षेत्र बिकास गर्न बजेट बिनियोजन गरीएकोमा निमित्त कार्यालय प्रमुख साहले विनियोजित बजेको योजनाहरु टुक्रा टुक्रा पारी उपभोक्ता समितीबाट कार्य गराई कमिशन उठाएको आरोप लगाएका थिए ।

निमित्त कार्यालय प्रमुख साहको बिषयमा अख्तियार दुरुपयोग अनुसंधान आयोगमा उजुरीको चाङ सहित बिभिन्न सँचारमाध्यममा प्रकाशित समाचारको आधारमा अख्तियार दुरुपयोग अनुसंधान आयोग हेटोडाले पुर्वाधार बिकाश कार्यालय कलैयामा छापामारी गरी सम्पुर्ण फाईल कब्जा गरेको सर्वविदितै छ । उक्त फाईलहरुमा निर्माण फर्महरुको कागजात मात्र लिई भुक्तानी गरी सम्पुर्ण रकम निमित्त कार्यालय प्रमुख साहले लिएको खुल्ने त्रासमा भुक्तानी गरीएको रकम धमाधम पुनः फिर्ता गराएको थियो ।

यस बिषयमा निमित्त कार्यालय प्रमुख राजेन्द्र साहसँग कुरा गर्दा हाकिम बसी राख्न तथा योजनाहरु सँचालन गरेबापत मन्त्रालयमा कमिशन पठाउनु पर्ने भएकोले कमिशन उठाउनुपर्ने बाध्यता रहेको बताएका छन् । साथै फर्जि भुक्तानी नभएको दाबी गर्दै आर्थिक वर्षको भुक्तानी हुने अन्तिम दिन दोहोरो भुक्तानी भएकोमा पुनः फिर्ता गरी दाखिला गरीएको बताएका छन् ।

 

spot_img

लोकप्रिय

Related Articles