रौतहटको विभिन्न नाकाको प्रयोग गरी गौरमा हुण्डीको कारोबार गरीरहेका भारत बैरगनीयाका दिलिप जयसवालको समूहले गोवामा एकसय करोड भन्दा बढी भारतीय रुपैयाको लगानीमा क्यासिनो संचालन गरीरहेको पाईएको छ ।
गौरमा रहेको तराई एक्सप्रेस मनी ट्रान्सफर र विभिन्न एक दर्जन भन्दा बढी सहयोगीहरुको साथमा हुण्डीको कारोबार गरिरहेका बैरगनीयाका दिलिप जयसवालको समूहले गोवामा क्यासिनो संचालन गरेका हुन् ।
सुरुमा गौर नाकाबाट भित्रिने पैसाको सम्पूर्ण कारोबार गरीरहेका दिलिप जयसवालका पार्टनर कौशल जयसवालले उक्त क्यासिनोको रेखदेख गर्ने गरेको समाचार स्रोतको दाबि रहेको छ ।
समाचार स्रोतका अनुसार दिलिप समूहले केहि महिना अगाडी गोवामा करीब १ सय ७० करोड भारतीय रुपैयामा क्यासिनो खरिद गरी सञ्चालनमा ल्याएका हुन् ।
त्यस्तै दिलिप समूहको संजाल काठमाण्डौमा पनि देखिएको छ । काठमाण्डौको माखन गल्ली हनुमान ढोकामा महिलाहरुको कपडा पसल संचालन गरेर बसेका भारतीय नागरीक मुन्ना कुमारले दिलिप समूहको हुण्डीको सम्पूण कारोबार गर्ने गरेको समाचार स्रोतको दाबि रहेको छ ।

