काठमाडौं – हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट ७ करोड रुपैयाँ बराबरका सामग्री हराएको पाइएको छ।
सामग्री हराएपछि वास्तविकता पत्ता लगाउन गठन गरिएको छानबिन समितिले संलग्न व्यक्तिहरूमाथि कारबाही गर्न सिफारिस गरेको छ।
विद्युत् प्राधिकरणको खरिद व्यवस्थापन महाशाखाबाट हेटौँडास्थित केन्द्रीय जिन्सी व्यवस्थापन शाखामा ल्याइएका विद्युतीय सामग्री कर्मचारीको लापरबाहीका कारण हराएको छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ।
महाशाखा प्रमुख जीतेन्द्रकुमार झाका अनुसार सामान अभिलेखमा देखिए पनि स्टोरमा भेटिएन। कतिपय सामान अन्य प्रदेशमा पुगेको देखिए पनि ७ करोड रुपैयाँ बराबरका सामग्री अझै हराइरहेका छन्।
तत्कालीन शाखा प्रमुख बुद्धकुमार कार्कीले वर्तमान प्रमुख रमेश पराजुलीलाई सामान बरबुझारथ गर्ने क्रममा अभिलेखमा भएका सामग्री स्टोरमा नदेखिएपछि वास्तविकता बाहिर आएको हो।
महाशाखा प्रमुख झाले लापरबाहीमा संलग्न कर्मचारीविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।

