बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ मा रहेको गढीमाई मन्दिर परिसर शुक्रबार बिहान देखि दिनभरी तनावग्रसत बन्यो । शुक्रबार बिहान करिब १० बजेदेखि मेयर उपेन्द्र यादव र त्यहाँका नगर प्रहरीहरुलाई स्थानीयले घेराबन्दी गरेपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको कमान्डमा थप टोली परिचालन गरिएको थियो ।
गाउँका केही १२ र १३ वर्षका उमेर समुहका केही बालकहरूको समूह बिहीबार साँझ मन्दिर परिसरमा पुगेर मन्दिरको परेवा समात्न खोजेपछि नगर प्रहरीले कुटपिट गरेका थिए ।

कुटपिट गरिएको घटनालाई लिएर शुक्रबार एउटा समूह मन्दिर परिसरमा पुगेर नगर प्रहरीसित वार्तालाप गर्न गएका बेला तिनीहरूबीच झन् विवाद बढेको थियो । त्यसपछि नगर प्रहरीले लाठीचार्ज गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको वडा नम्बर १ का अध्यक्ष मनोज गुप्ताले बताए । स्थानीयले मेयर यादव र नगर प्रहरीलाई मन्दिरनजिकैको विवाह मण्डपको भवनभित्र घेराबन्दीमा पारेका थिए ।

तर मेयर यादवले भने दोहोरो भिडन्त नहोस भनेर आफुहरु नगर प्रहरीलाई लिर विवाह मण्डपमा बसेको जिकिर गरेका छन् । धार्मिक आस्थामाथि चोट पुर्याउनेहरु लाई कार्वाहि गर्दा विपक्षीहरुले निहु खोजेको मेयर यादवले आरोप लगाएका छन् । बरियारपुर गाउँका केहि अराजक तत्वहरुले बिहिबार राति मन्दिरको छानामा चढेर परेवा समात्न खोज्दा रोक्ने क्रममा नगर प्रहरीसंग समान्य विवाद भएको र विपक्षीहरुले त्यसलाई बहाना बनाएर स्थानीयलाई उचालेर अवस्था तनावग्रस्त बनाएको दाबि गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले ुस्थिति नियन्त्रणभन्दा बाहिर नजाओस्, सार्वजनिक र व्यक्तिगत शान्ति सुरक्षामा असर नपरोस भन्ने उद्देश्यले सशस्त्र र नेपाल प्रहरीको थप बल परिचालन गरिएको बताए ।

