रौतटहको सदरमुकाम गौरमा रहेको तराई एक्सप्रेस मनी ट्रान्सफरबाट हुण्डीको कारोबार हुने गरेको रहस्य बाहिरीएको छ । बिहिबार साँझ ७ बजे गौर भन्सार चेकपोष्टबाट सशस्त्र प्रहरी बलको टोलीले ५ लाख रुपैया सहित एकजनालाई पक्राउ गरेपछि यो रहस्य बाहिरीएको हो ।
गौरमा रहेको तराई एक्सप्रेस मनी ट्रान्सफरका सञ्चालक करिमुली नामले परीचित शेख कमरुलले भारतबाट अवैद्य रुपमा हुण्डीको कारोबार गरीरहेको प्रहरी स्रोतले जनाएको छ । बिहिबार साँझ ५ लाख रुपैया सहित पक्राउ परेका बैरगनीया १४ पटेल चौकका राम पटेलको छोरा मोहित पटेल संगको सोधपुछको क्रममा तराई एक्सप्रेस मनी ट्रान्सफरमा उक्त पैसा जाने गरेको खुलासा भएको छ ।
भारत बाट भरीया लगाएर पैसा गौरमा रहेको मनी ट्रान्सफर सम्म पुर्याउने गरेको पक्राउ परेका भारतिय नागरीक मोहित कुमार पटेलले बताएको सशस्त्र प्रहरी स्रोतको दाबि रहेको छ । भारतको बैरगनीया बाट रबी भन्ने हुण्डी कारोबारका सदस्य भरीया मार्फत मनी ट्रान्सफर सम्म पुर्याउने गरेको स्रोतले जनाएको छ ।
यता तराई एक्सप्रेस मनी ट्रान्सफरका सञ्चालक करिमुली भन्ने शेख कमरुलले भने सबै आरोप झुठो रहेको प्रतिक्रिया दिएका छन् । उनले आफु मनी ट्रान्सफरको काम मात्र गरेको र हुण्डीको कारोबारमा संलग्न नरहेको बताएका छन् ।
तर मनि ट्रान्सफरका सञ्चालक करिमुलीले हुन्डी कारोबार बारे इन्कार गरेपनि पिएसआर खबरले भने हुण्डी सीत सम्बन्धित प्रमाण फेला पारेको छ ।
त्यस्तै पछिलो १ वर्षमा दर्जनौं पटक सशस्त्र प्रहरीले हुण्डीको रकम विभिन्न स्थान बाट फेला पारेपनी नेपाल प्रहरीले एक पटक पनि अवैध रकम फेला पार्न नसक्नु रहस्यमय रहेको छ ।

