प्रतिनिधि सभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले आज शुक्रबार बाराको मानवत-पिलुवा-मटिअर्वा सडकखण्डको अधुरो रहेको ३ किलोमिटर सडकको स्थलगत अनुगमन गरेको छ ।
माननीय कृष्ण कुमार श्रेष्ठ ‘किसान’ संयोजक रहेको समितिले अनुगमनको क्रममा कलैया उपमहानगरपालिकाका प्रमुख बिनोद साह, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, जसपा नेता रामबाबु यादव लगायत अन्य सरोकारवालाहरु संग अधुरो बाटो नबन्नुको कारण बारे जानकारी लिएको छ । साथै अनुगमन टोलीले अधुरो सडक निर्माणको लागि आन्दोलन गरिरहेका स्थानीयहरु संग पनि भेटघाट गरेको छ ।
आन्दोलनरत पक्षसंग समितिका संयोजक माननीय किसान श्रेष्ठले आउने मंगलबार सम्म ठेकेदार होमनाथ गौतमलाई सडक निर्माणको लागि जसरी पनि खटाउने अन्यथा ठेक्का रद्द गरी नयाँ ठेक्का लगाउने प्रक्रिया अगाडी बढाउने सहमती भएको आन्दोलनमा सहभागी डा.सुशिल साहले पीएसआर खबरलाई बताउनु भएको छ ।
प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७८ अनुसार आफुसंग सम्बन्धित मन्त्रालय, विभाग र अन्य निकायबाट सम्पादन भएका कामको अनुगमन तथा मुल्यांकन गरी आवश्यक निर्देशन दिने अधिकार निहित रहेको समितिबाट आज शुक्रबार भएको अनुगमनबाट सडक बन्ने आशा पलाएको स्थानीयहरुले बताएका छन् ।
माननीय किसान श्रेष्ठको नेतृत्वमा आएको अनुगमन समितिमा माननीय गणेश पराजुली, माननीय महेन्द्र बहादुर शाही, माननीय रमा कोइराला पौड्याल, माननीय राम शंकर यादव लगायत शाखा अधिकृत प्रविन राई र कानुन अधिकृत बालकृष्ण मिश्रको सहभागिता रहेको थियो ।

