राैतहट । चैत ५ ।। स्थानीय तहको रोजगार सेवा केन्द्रबाटै पुनः श्रम स्वीकृति पत्र उपलब्ध हुन थालेपछि सेवाग्राहीहरू खुसी भएका छन्। विगतका दिनहरुमा श्रम स्वीकृतिका लागि काठमाडौं जानु पर्ने बाध्यात्मक अवस्था रहेकाेमा स्थानीय स्तरमै सेवा प्राप्त हुँदा समय र खर्च बचत भएको भन्दै लाभग्राहीहरूले सन्तुष्टि व्यक्त गर्नु भएको छ । राैतहटकाे दुर्गाभगवती गाउँपालिकामा रहेकाे राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम अन्तरगत श्रम स्वीकृति प्रदान गर्नुकाे साथै न्यूनतम रोजगार कार्यक्रम व्यवस्थापन, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको सीप, पुँजी, अनुभव र प्रविधिको उपयोगमार्फत उद्यमशीलता विकाससम्बन्धी कार्यहरू पनि सञ्चालन गर्दै आएको राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमका रोजगार संयोजक सुनिल गुप्ताले जानकारी दिनु भएको छ । रोजगार संयोजक गुप्ताका अनुसार केन्द्रले श्रम सञ्चार प्रणाली सञ्चालन गर्नुका साथै बेरोजगार, आंशिक रोजगार, रोजगारमा रहेका तथा वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूको अभिलेख राख्ने कार्य गरिरहेको छ।
त्यसैगरी सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत विदेशमा रहेका व्यक्तिहरूका परिवारलाई लक्षित गरी वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा समेत सञ्चालन गरिदै आएको दुर्गाभगवती गाउँपालिकाकाे कार्यालय गंगापिपराले जनाएको छ।
गाउँपालिकाअन्तर्गत राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमका रोजगार संयोजक गुप्ताले स्थानीय तहबाट सेवा प्रवाह प्रभावकारी बन्दै गएकोले सेवा ग्राहीहरु हर्षित भएको जानकारी दिनु भएको छ ।

