काठमाडौं – अलैँचीलाई ‘नेपालको कालो सुन’ भनिन्छ । विश्वका थोरै देशमा मात्रै अलैँची उत्पादन हुन्छ । विश्वभर उत्पादन हुनेमध्ये ६० प्रतिशत अलैँची नेपालमै फल्छ ।
यस वर्ष अलैँचीको भाउ राम्रो आएको छ । उत्पादन कम हुँदा भाउ आकासिएको व्यवसायीहरूको भनाइ छ । अहिले किसानले नै प्रतिमन (४० केजी) को एक लाखदेखि एक लाख पाँच हजार रुपैयाँसम्म भाउ पाएका छन् । उत्पादन घटेसँगै अलैँचीको भाउ महँगो भएको हो ।
अघिल्ला वर्षमा किसानले बेच्ने बेलामा अलैँचीको मूल्य सामान्य हुने र केही समयपछि भाउ बढ्ने गथ्र्यो । त्यसो हुँदा किसान सधैँ मर्कामा पर्ने गरेका थिए ।
तर, यो वर्ष समयमै अलैँचीको भाउ बढेपछि किसान उत्साहित भएको अलैँची व्यवसायी इन्द्रबहादुर लिम्बूले बताए । वर्षेनी समयमै भाउ बढेर आए किसानलाई मर्का नपर्ने उनको भनाइ छ ।
लिम्बूका अनुसार, अलैँची उत्पादन गर्न धेरै खर्च लाग्ने र त्यसअनुसार भाउ नपाउँदा किसान मर्कामा परिरहेका थिए । पहिले गाँउमा धेरै क्षेत्रफलमा अलैँची खेती हुने गरेकामा अहिले धेरै किसानले अलैँची खेती मासेर तरकारी खेती थालेको उनले जानकारी दिए ।
अलैँची खेती गरिरहेका लिम्बूले यस वर्ष सो फसलबाट चार लाख रुपैयाँ कमाएका छन् । बगानमा विभिन्न रोग लागेका कारण पहिलेजति उत्पादन नहुने उनले बताए । पहिले–पहिले उनको बगानमा २५० केजीको हाराहारीमा अलैँची हुन्थ्यो । अहिले मुस्किलले २०० किलोग्राम उत्पादन हुने गरेको छ ।
विभिन्न रोगका कारण अलैँचीका बोट मर्दै गएका छन् । यसमा लागेको रोगको उपचार के हो भनेर पत्ता लगाउन नसक्दा पनि उत्पादन घटेको लिम्बू बताउँछन् ।
उत्पादन घट्दै जाँदा अलैँचीको मूल्य भने ह्वात्तै बढेको छ । यस अघिका तीन वर्षको तुलनामा उत्पादन ४० प्रतिशत नै घटेको अलैँची उत्पादक सङ्घका अध्यक्ष निर्मल भट्टराईको भनाइ छ । अहिले नेपालमा पाँच हजार मेट्रिकटनदेखि आठ हजार मेट्रिकटनसम्म अलैँची उत्पादन हुँदै आएको छ ।
गत दुई वर्ष यताको तथ्याङ्क हेर्दा पाँच हजारभन्दा पनि कम उत्पादन भइरहेको भट्टराईले बताए । यो वर्ष भने चार हजार मेट्रिकटनमात्रै अलैँची उत्पादन भएको उनको भनाइ छ ।
नेपालका पहाडी ४३ जिल्लामा व्यवसायिक अलैँची उत्पादन हुँदै आएको छ । सबैभन्दा बढी अलैँची उत्पादन हुने पकेट जिल्ला ताप्लेजुङ र सङ्खुवासभा हुन् । ती जिल्लामा पनि अलैँची उत्पादन घटेको उनको भट्टराईको भनाइ छ ।
अहिले मुख्यतः नेपाल, भारत र भुटानमा बढी अलैँची उत्पादन हुने गरेको छ । अलैँचीको मुख्य प्रयोग मसलाको रूपमा हुने गरेको छ । केही प्रतिशत औषधीको रूपमा पनि प्रयोग हुन्छ ।
नेपालमा अलैँची उत्पादनमा ह्रास आउनुमा यससम्बन्धी विज्ञ जनशक्ति अभाव कारण रहेको भट्टराईले बताए । उनले भने, ‘अलैँचीको उत्पादन वर्षेनी घट्नुमा हामीकहाँ विज्ञ नभएर हो । अहिले अलैँचीमा धेरै प्रकारका रोग लाग्न थालेको छ । उत्पादन क्षेत्रफल पहिलेजति नै भए पनि त्यसलाई निर्मूलीकरण गर्न नसक्दा उत्पादन भने घट्दो छ

