काठमाडौं – नेपाल र चीनबीच आठवटा सहमतिपत्रमा हस्ताक्षर भएको छ। मंगलबार चीनको राजधानी बेइजिङमा दुई देशका प्रधानमन्त्रीहरूको उपस्थितिमा हस्ताक्षर सम्पन्न भएको हो।
परराष्ट्र मन्त्रालयका अनुसार, नेपाल र चीनका प्रधानमन्त्रीबीच भएको दुईपक्षीय वार्तापछि सहकार्य र सहयोगसम्बन्धी आठवटा विषयमा सहमति गरिएको छ।
चिनियाँ प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल चारदिने औपचारिक भ्रमणका लागि सोमबार बेइजिङ पुगेको थियो।
हस्ताक्षर कार्यक्रमअघि प्रधानमन्त्री ओलीलाई ग्रेट हल अफ पिपलमा चिनियाँ प्रधानमन्त्री लीले विशेष समारोहमार्फत स्वागत गरेका थिए। उक्त अवसरमा चिनियाँ जनमुक्ति सेनाले प्रधानमन्त्री ओलीको सम्मानमा ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो। समारोहमा उच्चस्तरीय चिनियाँ नेता र अधिकारीहरूको पनि उपस्थिति थियो।
प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण टोलीका सदस्यहरूको परिचय चिनियाँ समकक्षीलाई गराएका थिए। त्यस्तै, चिनियाँ प्रधानमन्त्री लीले पनि आफ्ना प्रतिनिधि टोलीका सदस्यहरूको परिचय गराएका थिए।
द्विपक्षीय भेटवार्तापछि दुई देशका सहमतिपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

