Tuesday, May 26, 2026

अमेरिकी खर्बपति मस्कले टेस्लाबाट पाउने झन्डै ५६ अर्ब डलर अदालतले दोस्रो पटक रोक्यो

ताजा / भरखरै प्राप्त

अमेरिकाको एउटा अदालतले टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कलाई ५६ अर्ब डलर पारिश्रमिक दिने सहमति कार्यान्वयन नहुने निर्णय गरेको छ ।

टेस्ला कम्पनीको सञ्चालक समिति र निर्देशकहरूले अनुमोदन गरेको भए पनि डेलवेअर राज्यको अदालतले विपक्षमा निर्णय गरेको हो । न्यायाधीश क्याथलिन मक्कोर्मिकले गएको जनवरीमा आफूले गरेको फैसलालाई निरन्तरता दिनुभएको बीबीसीले जनाएको छ । यसअघि उहाँले टेस्लाको सञ्चालक समितिका सदस्यहरू मस्कको प्रभाव परेको ठहर गर्नुभएको थियो ।

टेस्लाले सन् २०१८ देखिको पारिश्रमिकको औचित्य पुष्टि गर्न नसकेको न्यायाधीशको तर्क छ । आफ्नो स्वामित्वमा रहेको सामाजिक सञ्जाल ‘एक्स’ मा मस्कले यो निर्णयप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले कम्पनीमा न्यायाधीशहरूको नभई शेअरहोल्डरहरूको नियन्त्रण हुनुपर्ने उल्लेख गर्नुभएको छ । टेस्लाले यो निर्णयविरुद्ध पुनरावेदन गर्ने जनाएको छ ।

विद्युतीय गाडी उत्पादन गर्ने कम्पनी टेस्लाको सञ्चालक समितिले सन् २०१८ मा कम्पनीको शेयर भाउ तथा गाडीको बिक्री र आम्दानी बढेमा सीईओ मस्कलाई पुरस्कार स्वरूप कम्पनीको शेयर दिने निर्णय गरेको थियो । त्यति बेला समस्याग्रस्त कम्पनीले प्रगति गरेपछि मस्कले आफूलाई प्रोत्साहन स्वरूप दिइएको प्याकेज पाउन योग्य भन्नुभएको थियो । तर कम्पनीका एक शेयरधनी निर्णयविरुद्ध अदालतमा गएपछि मुद्दा चलेको छ ।

जनवरीको बजार भाउअनुसार मस्कले पाउने शेयरको मूल्य झन्डै ५६ अर्ब डलर रहेकोमा डोनाल्ड ट्रम्पले चुनाव जितेपछि टेस्लाको शेयर भाउ अकाशिँदा मस्कले पाउने शेयरको मूल्य सय अर्ब डलर पुगिसकेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

spot_img

लोकप्रिय

Related Articles