काठमाण्डाै – काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा इरानको १८ वर्षमुनिको टोलीले लगातार तेस्रो जीत हात पारेको छ ।
त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा इरानको १८ वर्षमुनिको टोलीले भारतको क्यालिकट हिरोजलाई तीन–शून्यको सोझो सेटमा हरायो । इरानको युवा टोलीले पहिलो सेट २७–२५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२० ले जित्यो ।
इरानको युवा टोलीले पहिलो खेलमा माल्दिभ्सको क्लब एचडीसीलाई र दोस्रो खेलमा गण्डकी प्रदेश भलिबल सङ्घलाई हराएको थियो । काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा आजको दोस्रो खेलमा नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लब र माल्दिभ्सको क्लब एचडीसी खेलिरहेका छन् ।
प्रतियोगितामा नेपालसहित चार देशका पाँच वटा क्लब सहभागी छन् । लिगमा उत्कृष्ट हुने शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।

