काठमाडौँ – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र गुटगत प्रवृत्ति बढेको भन्दै कार्यकर्ताहरूलाई गुटको राजनीति नगर्न कडा चेतावनी दिएका छन्।
पार्टी केन्द्रीय संगठन विभागले आयोजना गरेको दुई दिने राष्ट्रिय कार्यशाला गोष्ठीमा आइतबार प्रशिक्षण दिने क्रममा अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई समान रूपमा व्यवहार गर्ने दाबी गर्दै बाहिरी चर्चामा कुनै सत्यता नरहेको बताए।
उनले एमालेभित्र गुटबन्दी छैन भन्दै कार्यकर्ताहरूलाई भ्रममा नपर्न निर्देशन दिए। अध्यक्ष ओलीले भने, “पार्टी पुनर्गठनपछि कसैको गुट छैन। मेरा लागि विष्णु र शंकर दुवै बराबर हुन्। सबै कार्यकर्ताहरू मेरा साथी हुन्, गुटको राजनीति गर्नु हुँदैन।”
भण्डारीलाई पार्टीमा नउचाल्न निर्देशन
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सक्रिय बनाउन खोजिएको चर्चा चलिरहेका बेला अध्यक्ष ओलीले नेताहरूलाई भण्डारीको दैलोमा नजान निर्देशन दिए। “उहाँ सर्वोच्च स्थानमा पुगिसक्नुभएको छ। आवश्यकता परेमा सल्लाहअनुसार पार्टीमा आउनुहुनेछ,” उनले भने।
विरोधीको प्रतिवाद गर्नुपर्ने आवश्यकता
अध्यक्ष ओलीले पार्टीका नेता–कार्यकर्ताहरूले विरोधीहरूको दुष्प्रचारको सामना गर्न नसकेको भन्दै असन्तुष्टि जनाए। उनले एमालेको मुख्य उद्देश्य समाजवाद र राष्ट्रवाद भएकाले कार्यकर्ताहरूलाई जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सशक्त हुनुपर्नेमा जोड दिए।
पार्टीभित्रका कमजोरी र सही बाटो पहिल्याउने अपिल
अध्यक्ष ओलीले पार्टीभित्र देखिएका विमति र सही मार्ग पहिल्याउन नसक्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै कार्यकर्ताहरूलाई वैचारिक स्पष्टता, एकता, र इमान्दारिताका साथ अघि बढ्न आग्रह गरे।
महाधिवेशन र भविष्यको तयारी
एमालेको आगामी ११ औँ महाधिवेशनको तयारीमा सहभागीहरूसँग अध्यक्ष ओलीले गुटबन्दी नगरी पार्टीलाई सशक्त बनाउन, आर्थिक उत्पादन र समृद्धिमा लाग्न र राष्ट्रिय हितको रक्षा गर्न सबै कार्यकर्ताहरूलाई एकताबद्ध भएर लाग्न निर्देशन दिए।
कार्यशालामा प्रदेश, जिल्ला कमिटी, जनसङ्गठनका प्रमुख, र स्थानीय तहबाट झन्डै ३०० कार्यकर्ताको सहभागिता रहेको थियो।

