काठमाण्डौ – नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध छ। काठमाण्डौको चन्द्रागिरि नगरपालिका-२ बाँडभञ्ज्याङका बासिन्दाले सुरुङमार्ग निर्माणको काम जारी राख्न नदिने निर्णय गरेका हुन्। उनीहरूका अनुसार, जबसम्म आयोजनाबाट उचित क्षतिपूर्ति नपाउँछन्, तबसम्म काम अघि बढ्न दिइने छैन। यस सम्बन्धमा स्थानीयवासीहरूले गत आइतवारदेखि निर्माण कार्य ठप्प पारेका हुन्।
सुरुङमार्ग निर्माणको क्रममा उनीहरूको घरमा समस्या, चिरा र पानीको समस्या आएको बताउँदै स्थानीयवासीले आन्दोलन गरिरहेका छन्। उनीहरूको भनाइमा, सरकारका वार्ता, भेटघाट र आश्वासनका बाबजुद पनि आयोजनाले मागको उचित सुनुवाइ नगरेको छ।
सुरुङमार्गअन्तर्गत ‘फ्लाईओभर’ क्षेत्रको संरचना निर्माण पनि अवरुद्ध भएको छ। सुरुङमार्गको माथिल्लो क्षेत्रका सातवटा घर चर्किएका छन्, जसको क्षतिपूर्ति दिने प्रक्रिया नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले अघि बढाएको छ। तर, स्थानीयवासीहरूले घरसँगैको जग्गाको पनि मुआब्जा दिनुपर्ने माग राखेका छन्, चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो।

