Tuesday, May 26, 2026

मेयर साहको स्टण्टबाजी – जनस्वास्थ्य सेवा ऐन नै नपढी अस्पताल खोल्न दिए निर्देशन

ताजा / भरखरै प्राप्त

अनुगमनको क्रममा मुख्यमन्त्री सतिश कुमार सिंहले बन्द गरेको कलैयाको निजि अस्पताल तथा पोलिक्लिनिकहरुलाई कलैया उपमहानगरपालिकाले खोल्न निर्देशन दिएको छ ।

कलैया उपमहानगरपालिकाको नगरप्रमुख विनोद प्रसाद साहले आज निजि अस्पतालका संचालकहरु संग छलफल गर्दै आईतबार एक पत्र जारी गरेर मुख्यमन्त्री द्वारा बन्द गरीएका निजी अस्पतालहरुलाई खोल्न निर्देशन दिनुभएको हो ।

नगर प्रमुख साहले स्थानीय सरकारले १५ शैयाको अस्पताल संचालनको लागि अनुमति दिएको अवस्थामा प्रदेश सरकारले स्थानीय तहलाई विना जानकारी गराई आएर अनुगमन गरेको र विना कारण अस्पतालहरुलाई बन्द गर्न निर्देशन दिएको आरोप लगाउनु भयो ।

आईतबार कलैया उपमहानगरपालिकाले निजी अस्पतालहरुलाई लेखेको पत्रमा कलैया उपमहानगरपालिका भित्र रहेका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा गरीएको अनुगमनको क्रममा स्थानिय निकायबाट १५ शैया सम्मको संचालन स्वीकृती जनस्वास्थ्य नियमावली २०७७ बमोजिमको अधिकार भित्र रहि सो अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई परिक्षणकाल स्वीकृती दिएको भन्दै अनुगमनको क्रममा मुख्यमन्त्री सिंहले बन्द गर्न दिएको निर्देशन गलत रहेको नगर प्रमुख साहले बताए ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय जनकपुरधाम र जिल्ला प्रशासन कार्यालय बारालाई बोधार्थ गरिएर लेखिएको पत्रमा निजी अस्पतालहरुलाई मापदण्ड भित्र रहि संचालन गर्न निर्देशन दिएको हो । शनिबार अनुगमनको क्रममा मापदण्ड विपरीत संचालन भईरहेको बाराको कलैयामा रहेका १२ वटा निजी अस्पताल तथा पोलिक्लिनिकहरु बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिनुभएको थियो ।

किन बन्द गराए मुख्यमन्त्रीले निजी अस्पताल ?

मधेश प्रदेशका जिल्लाहरुमा रहेका स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत रहेको र तिनिहरुले नागरिकहरुको उपचारमा धेरै शुल्क लिएको गुनासो बढेपछि अहिले मुख्यमन्त्रीले मधेशका ८ जिल्लामै रहेका निजी स्वास्थ्य संस्थाहरुको अनुगमन गर्दै हिडिरहेका छन् । त्यसैक्रममा शनिबार मुख्यमन्त्री सिंह कलैयामा रहेका निजी स्वास्थ्य संस्थाहरुको अनुगमन गरे त्यसक्रममा उनले मापदण्ड विपरीत रहेका १२ वटा स्वास्थ्य संस्थाहरु बन्द गर्न निर्देशन दिनुभयो ।

मुख्यमन्त्रीले खोजेको मापदण्ड के हो त ?

हामिले मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह संग मापदण्डको बारेमा कुरा गरेका थियौ । यसबारेमा उनले बन्द गर्न निर्देशन दिईएको अस्पताल तथा क्लिनिकहरुले मापदण्ड विपरीत अस्पतालमा शैल्यक्रिया, आकस्मिक कक्ष तथा नवजात शिशुको आकस्मिक कक्ष संचालन गरेको पाईएको बताउनु भएको थियो । मुख्यमन्त्री सिंहका अनुसार स्वास्थ्य सेवा ऐन अनुसार १५ शैयाको मात्र स्विकृती लिएका अस्पतालहरुले शैल्यक्रिया, आईसियु र एनआईसियू संचालन गर्न पाईदैन तर कलैयामा संचालित अस्पतालहरुले सम्पूर्ण सेवा दिईरहेको पाईएको बताउनु भएको थियो जसकारण बन्द गर्न निर्देशन दिनुभएको थियो ।

स्वास्थ्य सेवा ऐनले के भन्छ ?

जनस्वास्थ्य सेवा ऐन २०७५ अनुसार १५ शैयाको अस्पतालले विशेषज्ञ सहितको चेकजाँच र उपचार गर्नुका साथै माईनर आपरेशन मात्र गर्न पाउने छ । ठुलो सर्जरी, आइसीयू र एनआइसीयू जस्ता सेवा संचालनका लागि ५० शैयाको अस्पतालको स्विकृती लिनुपर्दछ । त्यहीं मापदण्ड विपरीत सेवाहरु संचालन गरेका कारण मुख्यमन्त्री सिंहले कलैयाका १२ वटा निजी स्वास्थ्य संस्थाहरु बन्द गर्न निर्देशन दिनु भएको हो ।

नगरप्रमुख साहको अपरिपक्व प्रतिक्रिया

कलैया उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय जयसवालका अनुसार पनि १५ शैयाको स्विकृती लिएका अस्पतालहरुले माइनर अपरेशन मात्र गर्न पाउने ऐनमा व्यवस्था रहेकोले मुख्यमन्त्रीले भने अनुसारका मापदण्ड विपरीत सेवा दिन नमिल्ने बताउनुभएको छ ।

तर आईतबार कलैया उपमहानगरपालिकाको सभाहलमा कलैयामा संचालनमा रहेका निजी स्वास्थ्य संस्थाहरुको संचालक संग बैठक बसेर मापदण्ड विपरित संचालनमा रहेका उक्त स्वास्थ्य संस्थाहरुलाई संचालन गर्नका लागि निर्देशन दिनु भएको छ ।

उनले निजी स्वास्थ्य संस्थाहरुको नामबाट पत्र जारी गर्दै स्थानिय निकायबाट १५ शैया सम्मको संचालन स्वीकृती जनस्वास्थ्य नियमावली २०७७ बमोजिमको अधिकार भित्र रहि सो अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई परिक्षणकाल स्वीकृती दिएको भन्दै संचालन गर्न निर्देशन दिनु भएको हो ।

तर जनस्वास्थ्य सेवा ऐनले नै रोक लगाएको कार्य गरीरहेका कलैयाको निजी स्वास्थ्य संस्थाहरुलाई यसरी बढावा दिनु अहिले गम्भीर प्रश्नको विषय बनेको छ ।

 

spot_img

लोकप्रिय

Related Articles