काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत मंगलबार बिहानको खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८२ रन बनाएको हो।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै २४ बलमा ३ चौका र ५ छक्कासहित ५७ रनको अर्धशतक बनाए। ब्रान्डनले ३६ रन बनाए, जसमा उनले २६ बलमा २ चौका र २ छक्का प्रहार गरे। विनोद भण्डारीले २० बलमा ४ चौकासहित २३ रन बनाए।
इशन पाण्डेले १६ बलमा २ चौका र १ छक्कासहित २१ रन थपे। अन्य खेलाडीमा सैफ जैबले १५ रन, स्कट कुग्गेलिजनले १० रन, आरिफ शेखले ९ रन बनाए। अमित श्रेष्ठ भने १ रनमै आउट भए।
विराटनगर किंग्सका बलर अनिल खरेलले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २६ रन दिएर ३ विकेट लिए। क्रिस सोल, इस्मत आलम र बसिर अहमदले समान १/१ विकेट झारे।

