Tuesday, May 26, 2026

चीनमा घट्दो जन्मदर रोक्न ‘प्रेम शिक्षा’ सुरु गर्ने तयारी

ताजा / भरखरै प्राप्त

बेइजिङ । चीन अहिले घट्दो जन्मदरको समस्यासँग जुधिरहेको छ, जसले सरकारलाई गहिरो चिन्तित बनाएको छ। यसको समाधान खोज्न चिनियाँ सरकारले कलेज र विश्वविद्यालयहरूमा ‘प्रेम शिक्षा’ (लभ एजुकेशन) कार्यक्रम सुरु गर्ने योजना बनाएको छ।

सरकारको विश्वास छ कि यस कार्यक्रमले विवाह, प्रेम, र पारिवारिक जीवनलाई सकारात्मक प्रभाव पार्न मद्दत गर्नेछ। चीनले लगातार दोस्रो वर्ष जनसङ्ख्यामा आएको गिरावटको सामना गरिरहेको छ। यसले देशको स्रोत र अर्थतन्त्रमा वृद्धवृद्धाको बढ्दो प्रभावको चिन्ता थपेको छ।

करिब १ अर्ब ४० करोड जनसङ्ख्या रहेको चीन विश्वको दोस्रो सबैभन्दा बढी जनघनत्व भएको देश हो। तर वृद्ध जनसङ्ख्या धेरै भएकाले जन्मदर सुधार गर्न सरकारले युवा पुस्तालाई लक्षित गरिरहेको छ।

वर्तमान समयमा धेरै चिनियाँ युवा रोमान्टिक सम्बन्ध बनाउन हिचकिचाउने गरेको देखिएको छ। कलेज र विश्वविद्यालयहरूमा विवाह र प्रेम शिक्षा सम्बन्धी पाठ्यक्रम लागू गर्न आवश्यक रहेको सरकारी अधिकारीहरूले बताएका छन्। यस प्रयासको उद्देश्य विवाह र बच्चा जन्माउने अनुकूल सांस्कृतिक वातावरण प्रवर्द्धन गर्नु हो।

चेङकाई विश्वविद्यालयका प्राध्यापक चि युयानले यो समयमै सुरु गर्नुपर्ने कार्यक्रम भएको भन्दै, “प्रेम र रोमान्सबाट टाढा रहेका युवालाई यसमा सामेल गराउन जरुरी छ,” भने।

हालैको सर्वेक्षणले ५७ प्रतिशत कलेज विद्यार्थीहरू रोमान्टिक सम्बन्धमा संलग्न हुन चाहँदैनन् भन्ने देखाएको छ। यसका प्रमुख कारण शैक्षिक जिम्मेवारी र व्यक्तिगत सम्बन्धलाई सन्तुलन गर्न कठिनाइ रहेको बताइएको छ।

केही कम्पनीहरूले अफिसमा रोमान्सलाई प्रोत्साहन गर्न नगद पुरस्कार दिने घोषणा गरेका छन्। रोमान्स गरेमा, विवाह गरेमा, र बच्चा जन्माएमा नगद उपहार दिने योजनाहरू ल्याइएको छ।

चिनियाँ सरकारको यो प्रयासले घट्दो जन्मदर सुधार्न सहयोग पुर्‍याउने आशा गरिएको छ। तर यो नीतिले सकारात्मक परिणाम दिने वा नदिने भन्ने कुरा आगामी दिनमा मात्र स्पष्ट हुनेछ।

spot_img

लोकप्रिय

Related Articles