सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको चुनौती प्रस्तुत गरेको छ।
लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले ४ विकेटको क्षतिमा १८७ रन बनायो। ओपनर सइफ जबइले उत्कृष्ट प्रदर्शन गर्दै ९० रनको पारी खेले। उनले ६१ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। १८औं ओभरमा रेमन्ड सिमन्सको बलमा उन्मुक्त चन्दबाट क्याच आउट हुनुअघि जबइले टिमलाई मजबुत आधार प्रदान गरे।
सइफसँग ओपनिङ साझेदारी गरेका विनोद भण्डारीले १७ रन बनाउँदै ४९ रनको साझेदारी पूरा गरे। ब्रान्डन माक्मलेनले २० बलमा २३ रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरीले अन्त्यसम्म नटआउट ३९ रन प्रहार गरे, जसमा ४ चौका र २ छक्का सामेल थियो। स्कट कुगेलेइनले नटआउट ११ रन बनाए।
बलिङतर्फ लुम्बिनीका रेमन्ड सिमन्सले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए।
सुदूरपश्चिमले यसअघिका दुवै खेलमा जित हात पारेको लय कायम राख्न प्रयासरत छ, जबकि लुम्बिनीले खराब बलिङका कारण दुवै खेल गुमाएको छ।

