दमास्कस – सिरियाका राष्ट्रपति बसार अल-असद देश छोडेर भाग्दै रुसको राजधानी मस्को पुगेका छन्। रुसको राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनलाई त्यहाँ शरण दिइनेछ। विद्रोही समूह हायात ताहिर अल साम (एचटिएस)ले राजधानी दमास्कस कब्जा गरेपछि असद देश छोडेर रुस गएको बताइएको छ।
आइतबार विद्रोही समूह एचटिएसका नेता अबु मोहम्मद अल जलवानीले पुरानो दमास्कसको ऐतिहासिक उमायाद मस्जिदमा उपस्थित भएर सम्बोधन गरेका थिए। उनले इस्लामिक राज्यको विजय भएको घोषणा गर्दै सन् २०११ यता सहिद भएका व्यक्तिहरूप्रति सम्मान व्यक्त गरे। उनले देशलाई भ्रष्टाचारमुक्त बनाउन ध्यान केन्द्रित गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
विद्रोहपछि असदको शासन समाप्त, विद्रोही समूहको विजय घोषणा
सिरियामा असद शासनको अन्त्य अत्यन्तै छोटो समयको घटनाक्रममा सम्भव भएको छ। नोभेम्बर २७ मा एचटिएसले आक्रमण तीव्र बनाउने घोषणा गरेपछि घटना तीव्र बने। डिसेम्बर ५ मा हामा, डिसेम्बर ७ मा होम्स, र डिसेम्बर ८ मा राजधानी दमास्कस कब्जा गर्दै विद्रोही समूहले विजय उत्सव मनाएको छ।
उमायाद मस्जिद, जहाँ असद र उनका बाबु हफिज अल-असद प्रार्थना गर्थे, अब विद्रोही नेताको सम्बोधनस्थल बनेको छ। यस विजयसँगै संसारभरका सिरियाली समुदाय खुसी मनाइरहेका छन् भने असद शासनका अन्त्यले नयाँ अध्यायको सुरुवात गरेको जनाइएको छ।

