पर्सा – सानोपाइला सहकारीको बचत रकमसँग सम्बन्धित अपचलनको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि पर्सा लगिँदैछ।
सोमबार बिहान कास्कीबाट पर्सा जानका लागि लामिछाने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइसक्नु भएको थियो, र उनी बुद्ध एयरको जहाज चढिसकेका छन्।
उनी बुद्ध एयरको जहाजबाट काठमाडौं पुगेर बाराको सिमरा विमानस्थल हुँदै वीरगन्ज जाने प्रहरीको तयारी रहेको छ।
गएराति नै पूर्वडिआइजी छविलाल जोशी र नेचर्स हर्ब्सका संचालक रामबहादुर खनाललाई पनि पर्सा पुर्याइसकिएको छ।
सानोपाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्क र नेचर्स हर्ब्समा रकम प्रवाह भएको देखिएपछि प्रहरीले उनीहरूविरुद्ध पुर्जी जारी गरेको हो।
सानोपाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा १ अर्ब ४५ करोड बढी रकम बचत भएको थियो। त्यसमध्ये गोर्खा मिडिया नेटवर्कमा ८ करोडभन्दा बढी रकम प्रवाह भएको देखिएको छ, जुन सहकारी अपचलन सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदनमा उल्लेख छ।
लामिछाने र जोशीलाई आइतबार कास्की जिल्ला अदालतले थप चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
लामिछानेमाथि सहकारी बचत रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ।

