काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका– ३ मा बनेको बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको र देशभर बिजुली, कृषि, संचार, उद्योग र सरसफाइ आदिका आयोजना सञ्चालन गर्ने बताउनुभयो । उहाँले नागरिकले घरमै धारो खोलेर पानी पिउन पाउँदा आफूलाई आनन्द लाग्ने बताउँदै देशलाई अस्थिर हुन नदिन प्रमुख दलको नेतृत्वमा सरकार बनेकाले विकास निर्माणका अधुरा कामलाई गति दिने जनाउनुभयो । नेताहरु विभिन्न पार्टीका भए पनि विकास निर्माणका काममा एकजुट हुनुपर्ने ओलीको भनाइ छ ।
५० करोड सात लाख ९२ हजार रुपैयाँ लागतमा निर्मित बेलडाँगी आयोजनाबाट नगरपालिकाको वडा नम्बर २, ३ र ४ का ६ हजार पाँच सय २१ घरघुरीका २६ हजार सात सय ४३ जना लाभान्वित हुनेछन् । कार्यक्रममा ओलीले आयोजनाका लागि जग्गा दिने स्थानीयबासीलाई सम्मान गर्नुभएको छ ।
कार्यक्रममा ओली पत्नी राधिका शाक्य, नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवाली, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, सघीय खानेपानीमन्त्री प्रदीप यादव, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलगायत उपस्थित हुनुहुन्थ्यो । प्रधानमन्त्री ओलीले हिजो देशकै अग्लो १८ तले भ्यू टावर अर्थात् दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन गर्नुभएको थियोे ।

