काठमाडौं– नेपाल अङ्ग प्रत्यारोपण समाजको आयोजनामा आगामी शनिबारदेखि काठमाडौंमा अङ्ग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।
समाजका अध्यक्ष डा. पुकारचन्द्र श्रेष्ठका अनुसार सम्मेलनमा भारत, जापान, नेदरल्याण्ड्स र बेलायतका १९ जना विशेषज्ञ चिकित्सक सहभागी हुनेछन्। सम्मेलनमा अङ्ग प्रत्यारोपणसम्बन्धी २६ वटा कार्यपत्र प्रस्तुत गरिने छ।
डा. श्रेष्ठले मस्तिष्क मृत्युपछि कलेजो र मिर्गौला दान गर्न सकिने बताउँदै सर्वसाधारणलाई अङ्गदानका लागि प्रेरित गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको जानकारी दिए।
मिर्गौला, मुटु, फोक्सो, कलेजो, सानो आन्द्रा, आँखा र प्याङ्क्रियाजजस्ता अङ्गहरू मस्तिष्क मृत्युपछि दान गर्न सकिन्छ।

