Tuesday, May 26, 2026

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति नागरिक उड्डयन प्राधिकरणको आपत्ति

ताजा / भरखरै प्राप्त

काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने भनी गरिएको पत्राचारप्रति आपत्ति जनाएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्जले आउँदो पुस १७ गतेदेखि हेलिकप्टरको व्यावसायिक उडान/अवतरणमा रोक लगाउन परिपत्र गरेपछि क्यानले विज्ञप्ति निकालेर यो निर्णयमा आपत्ति जनाएको हो । साथै क्यानले हेलिकप्टरको उडानमा रोक लगाउने सम्बन्धमा कुनै निर्णय नहुञ्जेलसम्म त्यस क्षेत्रमा विद्यमान अवस्थामा जस्तै निर्बाध र नियमित रूपमा व्यावसायिक उडान सञ्चालन गर्न/गराउन पनि सम्पूर्ण हेलिकप्टर कम्पनीलगायत सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।

हवाई उड्डयनको नियमन तथा व्यवस्थापन गर्ने कानूनी जिम्मेवारी गैरसैनिक हवाई उडान ऐन तथा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन र त्यो कानूनअन्तर्गतका नियमावलीमा भएको व्यवस्थाबमोजिम आफूमा निहित रहेको क्यानले स्मरण गराएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन तथा हिमाली राष्ट्रिय निकुञ्ज नियमावलीलगायतका कानूनमा कुनै पनि आरक्षमाथिको हवाई क्षेत्र प्रतिबन्ध गर्ने अधिकार अरू निकायमा नरहेको हुँदा निकुञ्ज कार्यालयले गरेको पत्राचारको कुनै पनि कानूनी आधार र औचित्य नभएको क्यानको जिकिर छ ।

यसअघि अनियन्त्रित रूपमा हुने गरेको हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा थप चुनौती थपिएको तथा खुम्बु क्षेत्रको स्थानीय व्यापार, व्यवसाय तथा रोजगारीमा समेत नकारात्मक असर परेको जनगुनासो रहेको भन्दै निकुञ्ज कार्यालयले पुस १७ गतेदेखि खुम्बु क्षेत्रमा हेलिकोप्टर उडानमा रोक लगाउने निर्णय भएको भन्दै परिपत्र गरेको थियो ।

spot_img

लोकप्रिय

Related Articles