काठमाडौँ- करिब पाँच वर्षदेखि रिक्त रहेका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगले छिट्टै पदाधिकारी पाउने भएका छन्। सरकारले गठन गरेको पदाधिकारी सिफारिस समितिले दुवै आयोगका लागि अध्यक्षसहित पाँच पदाधिकारी सिफारिसको तयारी अन्तिम चरणमा पुर्याएको हो।
सर्च कमिटी सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा कात्तिक २ गते गठन गरिएको थियो। समितिलाई सिफारिसको काम पूरा गर्न पुस २ गतेसम्मको समय दिइएको छ।
समितिले सुरुमा दुवै आयोगका लागि मापदण्ड तयार गरी सर्टलिस्ट बनाएको थियो। सर्टलिस्टमा परेका उम्मेदवारहरूमध्येबाट योग्य व्यक्ति छनोट गर्न आइतबारदेखि अन्तिम छलफल सुरु भएको छ। समितिका प्रवक्ता खम्बबहादुर खातीका अनुसार सोमबार वा मंगलबारसम्म सिफारिस प्रक्रिया टुंग्याइनेछ।
सर्टलिस्टमा को-को छन्?
सर्च कमिटीले अध्यक्षका लागि आठ जना र सदस्यका लागि ४० जनाको नाम सर्टलिस्टमा राखेको छ। अध्यक्षका लागि डिल्लीराज आचार्य, शेरबहादुर केसी, सुदीप पाठक, विजय सिजापति, विश्वराज कोइराला, महेश थापा, अच्युतप्रसाद भण्डारी, र काशीराज दाहालका नाम सिफारिस भएका छन्। यी मध्ये दुईजना सत्य निरूपण र बेपत्ता आयोगको अध्यक्षका रूपमा चयन हुनेछन्।
कसको सम्भावना बढी?
स्रोतका अनुसार सत्य निरूपण आयोगको अध्यक्षका लागि शेरबहादुर केसी, सुदीप पाठक र काशीराज दाहालको सम्भावना बलियो छ भने बेपत्ता आयोगको अध्यक्षमा डिल्लीराज आचार्य, विश्वराज कोइराला, र विजय सिजापतिको सम्भावना देखिएको छ।
द्वन्द्वकालीन न्यायमा आशा
सत्य निरूपण आयोगमा ६० हजार र बेपत्ता आयोगमा ३ हजार उजुरी छन्। दुवै आयोगले उजुरीहरूको अनुसन्धान गरेर विशेष अदालतमा मुद्दा चलाउने सिफारिस गर्नेछन्। विशेष अदालतमा उच्च अदालतका विशेषज्ञ न्यायाधीशहरूले सुनुवाइ गर्नेछन्।
संक्रमणकालीन न्यायसम्बन्धी ऐनमा आयोगका पदाधिकारीहरूको अवधि चार वर्ष तोकिएको छ। यस अवधिमा द्वन्द्वकालीन न्यायसम्बन्धी सबै प्रक्रिया टुङ्गोमा पुर्याउने लक्ष्य राखिएको छ।

