किभ । युक्रेनले रूसद्वारा तैनाथ गरिएका कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको कुर्स्क क्षेत्रमा हताहत भएको जनाएको छ ।
युक्रेनी सैन्य गुप्तचर निकायका अनुसार डिसेम्बर १४ र १५ मा कुर्स्क क्षेत्रअन्तर्गत प्लेखोभो, भोरोज्बा र मार्टिनोभ्का गाउँ नजिकका उत्तर कोरियाली सैनिक एकाइमा ठूलो क्षति पुगेको छ ।
गुप्तचर अधिकारीले बताएका छन्, “रूसले कब्जा गरेका युक्रेनी भूभाग र सीमावर्ती क्षेत्रमा तैनाथ गरिएका सैनिकलाई लक्षित गरिएका आक्रमणमा ३० उत्तर कोरियाली सैनिकको मृत्यु वा गम्भीर घाइते भएको छ।”
पश्चिमी अधिकारीहरूका अनुसार उत्तर कोरियाले रूसलाई सघाउन १० हजार सैनिक पठाइसकेको छ । पछिल्लो समय युक्रेनी आक्रमणपछि रूसले आफ्नो सीमावर्ती क्षेत्रलाई सुदृढ गर्न उत्तर कोरियाली सैनिकको उल्लेखनीय संख्यामा तैनाथी गरेको बताइएको छ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका अनुसार उत्तर कोरियाली सैनिकहरूलाई कुर्स्क क्षेत्रका अतिरिक्त अन्य स्थानहरूमा अग्रपङ्तीमा प्रयोग गरिरहेको छ । उनले रूस र उत्तर कोरियाबीचको सैन्य सहकार्य गहिरिँदो रहेको समेत बताएका छन् ।
यसै वर्षको गृष्म याममा युक्रेनी सेनाले आश्चर्यजनक आक्रमण गरेपछि रूसले आफ्नो सीमावर्ती भूभागको सुरक्षा सुदृढ गर्न उत्तर कोरियाली सेना तैनाथ गरेको हो ।

