Tuesday, May 26, 2026

देश भ्रष्टाचारमुक्त बनाइन्छ, अनुहार नहेरी कारवाही हुन्छ : प्रधानमन्त्री ओली

ताजा / भरखरै प्राप्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा व्यवस्था र अवस्था दुवै बदलिएको बताएका छन् । आज (मंगलबार) ललितपुर महानगर स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले देशलाई भ्रष्टाचार मुक्त बनाउने अभियानमा लागेको बताएका छन् ।

उनले देशलाई सच्चाएर अघि बढाउन आफू नेतृत्वको सरकारले काम गरिरहेको दावी गरे । उनले भने, ‘आर्थिक हिसाबले देशको अवस्था नाजुक बनाइएको रहेछ । त्यसलाई सम्हालेर फर्काएर माथि उठाउने काम गर्दैछौं । देशको अवस्था सच्याउनु छ । गरिबीबाट माथि उठाउनुछ । देशलाई सुशासन दिनुछ । देशलाई भ्रष्टाचारमुक्त बनाउनुछ । मैले भनेको छु–भ्रष्टहरुको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ । देशमा सुशासन हुन्छ ।’

‘कतिपय मानिसहरूले भन्ने गरेका छन्– व्यवस्था बदलियो अवस्था बदलिएन भनेर । तर व्यवस्था पनि बदलियो र अवस्था पनि बदलियो’, प्रधानमन्त्री ओलीले भने, ‘हिजो निरपेक्ष गरिबीको रेखामुखी ४२ प्रतिशत जनता थिए । थोरै होटल थिए । बाटोको अवस्था कस्तो थियो हिजो ? पुराना मानिसले त देखेकै छ, हिजो ललितपुर कहाँ थियो काठमाडौँ कहाँ थियो कहाँ पुग्यो ?’

जनताको आम्दानीको स्तर र व्यवसायकोस्तर बढे पनि सबैले काम नपाएको अवस्था सत्य रहेको भन्दै प्रधानमन्त्रीले आम रूपमा देश र जनताको अवस्था हिजोकै जस्तो नभएको दावी गरे । उनले उत्तरदायी र जिम्मेवार सरकार अहिले बनेको भन्दै पहिलाको जस्तै कर उठाउन मात्र यो सरकार नबनेको बताए ।

‘विकृतिहरूलाई हटाउने र राम्रो कल्चर भएको थिति बसाल्ने हो सरकारले, शासन होइन सेवा दिने हो सरकारको काम’, उनले भने, ‘८२ सालभित्र सडक बालबालिकामुक्त व्यवस्था गर्छ ।’ उनले स्वास्थ्य बीमा व्यवस्थित बनाउने, सामाजिक सुरक्षाका क्षेत्रमा कोही पनि सामाजिक सुरक्षाबाट वञ्चित हुन नदिन योगदानका आधारमा उक्त कार्यक्रम अघि बढिरहेको बताए ।

उनले तत्कालीन आर्थिक अवस्था नाजुक रहेकाले त्यसलाई सुधार गर्नेतिर सरकार लागिरहेको बताएका छन्। सुशासन र भ्रष्टाचार नियन्त्रणमा आफू कठोर रूपमा प्रस्तुत हुने भन्दै प्रधानमन्त्रीले जनताका सेवकहरूले देश र जनताको हितमा काम गर्नुपर्ने बताए । ‘हाकिम हुँ भन्ने कुरा बिर्सनु पर्छ । घमण्ड पलाउनु हुँदैन । घमण्ड मस्तिस्कमा पसेपछि अरु केही पस्न सक्दैन’, प्रधानमन्त्रीको भनाई छ ।

spot_img

लोकप्रिय

Related Articles