काठमाडौं । ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा भएको भ्रष्टाचार मुद्दामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालसहित ६ जनालाई दोषी ठहर गर्दै विशेष अदालतले सजाय सुनाएको छ।
मंगलबार विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर श्रेष्ठ र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूलाई जनही तीन महिना कैद र एक लाख ५७ हजार ३६५ रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो।
दोषी ठहर भएका दाहाल हाल सेवानिवृत्त भइसकेका छन्। उनीसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ ओखलढुंगाका तत्कालीन इन्जिनियर नवीन श्रेष्ठ र सबइन्जिनियर लोकबहादुर ठकुराठीलाई समेत दोषी ठहर गरिएको छ।
उनीहरूमाथि आर्थिक वर्ष ०७४/७५ मा गाउँपालिकामा सञ्चालित विभिन्न सडकखण्ड निर्माण कार्यमा फिल्डको वास्तविक तथ्य लुकाई कामभन्दा बढी मूल्यांकन गरेर झुटा बिल तयार गरेको आरोप लागेको थियो।
अख्तियारले ०८१ वैशाख २० मा उनीहरूविरुद्ध मुद्दा दायर गर्दै जनही ९ लाख ४४ हजार १९५ बिगो असुल गर्न माग गरेको थियो। तर, अदालतले प्रमुख प्रशासकीय अधिकृत दाहालको हकमा दाबी नपुग्ने फैसला गरेको छ।
इन्जिनियर नवीन श्रेष्ठ र सबइन्जिनियर लोकबहादुर ठकुराठीलाई तीन महिना कैदसहित थप १० हजार जरिवाना पनि तोकिएको छ।
यस्तै, उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर थापा, सचिव पदमबहादुर कटवाल र कोषाध्यक्ष मिठुमाया गुरुङ खत्रीलाई पनि एक लाख ५७ हजार ३६५ जरिवाना र त्यति नै बिगो असुल गर्ने फैसला भएको छ।

