काठमाडौं– जारी नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका सबै २८ खेल सकिएसँगै प्लेअफमा पुग्ने चार टिमको टुंगो लागेको छ। लिगमा एक मात्रै हार र ६ जितसहित सुदूरपश्चिम रोयल्स १२ अंकसहित तालिकाको शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान बनायो।
जनकपुर बोल्ट्स १० अंकसहित दोस्रो स्थानमा रह्यो। जनकपुरले चितवन राइनोज र सुदूरपश्चिमसँग मात्र हार व्यहोरेको थियो। चितवनले ८ अंकसहित रनरेटका आधारमा तेस्रो स्थान ओगट्यो भने कर्णाली याक्स पनि समान ८ अंकसहित चौथो स्थानमा रह्यो।
लिगको शीर्ष चार टिम सुदूरपश्चिम, जनकपुर, चितवन र कर्णालीले प्लेअफमा स्थान बनाएका छन्। लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्स र काठमाडौं गुर्खाज भने प्रतियोगिताबाट बाहिरिएका छन्।
मार्की खेलाडीहरूको प्रदर्शन
सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरीले ब्याटिङमा १९८ रन जोड्दै ५ विकेट लिए। जनकपुरका आशिफ शेखले ११४ रन बनाउँदा अर्धशतक प्रहार गर्न सकेनन्। चितवनका कुशल मल्लले सर्वाधिक २०२ रनसँगै बलिङमा ८ विकेट लिए।
कर्णालीका सोमपाल कामीले ६ विकेट लिएर १९५ रन खर्चिएका छन्। काठमाडौंका करण केसीले बलिङमा १२ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। विराटनगरका सन्दीप लामिछानेले ६ विकेट लिए पनि अपेक्षाकृत प्रदर्शन गर्न सकेनन्।
पोखराका कुशल भुर्तेलले ६ खेलमा जम्मा ५४ रन मात्रै जोडे। लुम्बिनीका रोहित पौडेलले दुई अर्धशतकसहित २८२ रन बनाउँदै सर्वाधिक रनकर्ता बने। उनले बलिङमा पनि ८ विकेट लिए।
एनपीएलको प्लेअफमा अब चार उत्कृष्ट टिमबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

