ठेकेदारहरुको बदमासीका कारण बाराको सिम्रौनगढ बजारलाई ग्रामिण भेग संग जोड्ने रानिबास देखि कंकालनी सम्मको सडक अलपत्र परेको छ ।
मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले २०७८ पौष १४ गते रानीवास देखी सिम्रौनगढ बजार पुग्ने मुख्य सडकको ठेक्का लगाएको थियो । २०८० पौष १२ गतेभित्र निर्माण सम्पन्न हुने गरि रायमाझी, आजाद, र दिपुले जेभीमा १७ सय मिटर लम्बाई भएको यस सडकको दुबै किनारमा नाला सहित सडक निर्माण गर्नका लागि ५ करोड ८१ लाख १९ हजार ९ सय ७७ रुपैयामा ठेक्का सकार गरेको थियो ।

तर ठेकेदारहरुको लापरवाहिले म्याद सकेको एकवर्ष वितिसक्दा पनि जम्मा ४० प्रतिशत मात्र काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका ईन्जिनियर आरती चौधरीले बताउनु भयो । ईन्जिनियर चौधरीका अनुसार एकातर्फ मन्त्रालयमा बजेट अभाव हुनु र अर्काेतर्फ ठेकेदारको लापरवाहिले पनि चाहेजती काम हुन नसकेको हो ।

नाला सहित कालोपत्रे सडक निर्माण गर्नका लागि ठेक्का लागेपनि समयमा सडकको काम सम्पन्न नहुँदा सिम्रौनगढ बजार नै अहिले अस्तव्यस्त बनेको छ । सडक नबन्दा अहिले बजारमा आउने व्यापारी तथा उपभोक्तालाई असहज भएको छ । सडक नबन्दा बाटोमा हिड्न मुस्किल भएको सिम्रौनगढका स्थानीय व्यापारी प्रदिप कुशवाहाले बताउनु भएको छ । कुशवाहाका अनुसार ३ वर्ष देखि यहाँको बजारको अवस्था नाजुक बनेको छ ।

सडकको दुरावस्था देखेर स्थानीय आक्रोशित बनेका छन् । उपराष्ट्रपति रामसहाय राय यादव तथा पूर्व मूख्यमन्त्री सरोज कुमार यादवको गृहपालिका रहेको सिम्रौनगढ बजारको बाटो नबन्नु आफैमा लज्जाको विषय रहेको स्थानिय सुरेन्द्र महतो भन्छन् । महतो अगाडि थप्छन यो सिम्रौनगढ बजारको सडक नबन्नुमा यहाँको ठुलो नेताहरुको हात छ, उपराष्ट्रपति यादव र पूर्व मूख्यमन्त्री यादवले चाहेको भए म्यादभित्र नै बाटो बन्न सकिन्थ्यो तर उहाँहरुले चाहनु भएन् ।

सुख्खामा धुलो उड्ने तथा बर्षामा हिलो हुने समस्याले यहाँका बासिन्दा आजित भईसकेका छन् । समयमा निर्माणको काम नसकेका ठेकेदारहरु अहिले बिभिन्न बहाना बनाउँदै म्याद थप गर्न प्रदेशको मन्त्रालयमा धाउन थालेका छन् । समयमा काम पूरा नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्नुको साटो पटक–पटक म्याद मात्रै थप्ने हो भने हरेक योजनामा यस्तै ढिलासुस्ती भइरहने स्थानीयहरु बताउछन् ।

