जीतपुरसिमरा उपमहानगरपालिका–७ का वडाध्यक्ष सुनील गुप्तालाई सात दिन न्यायीक हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बाराले अनुमति दिएको छ।
चैत्र १ गते राति होलीको अवसरमा जीतपुरसिमरा–७ मा रहेको परशुराम गिरीको घरमा जबरजस्ती प्रवेश गरी कुटपिट तथा गालीगलौज गरेको आरोप गुप्तामाथि लागेको छ। राति ९:३० बजेतिर गुप्ता नेतृत्वको समूह गिरीको घरमा प्रवेश गरी केही व्यक्तिलाई कुटपिट गरेको सिसिटिभी फुटेज सार्वजनिक भएको थियो। घटनाको क्रममा घरधनी परशुराम गिरीले हवाई फायर समेत गरेपछि स्थिति झन् तनावग्रस्त बनेको थियो।
परशुराम गिरीले आफ्ना छोरा तथा नातिमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण हुन लागेपछि आत्मरक्षाका लागि हवाई फायर गर्नुपरेको बताएका छन्। घटनापछि जिल्ला प्रशासन कार्यालयले दुवै पक्षलाई राखेर सम्झौता गराउने प्रयास गरेको थियो। तर सहमति हुन नसकेपछि आइतबार बारा प्रहरीले गुप्तालाई नियन्त्रणमा लिएको हो।
बारा क्षेत्र नम्बर ४ का सांसद तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठले सोमबार संसदमा यो विषय उठाएपछि बारा प्रहरी थप दबाबमा परेको छ। प्रहरीले घटनामा संलग्न थप १० जनालाई पक्राउ गर्न बारा जिल्ला अदालतबाट अनुमति लिएको छ। यद्यपि, उनीहरूको नाम प्रहरीले गोप्य राखेको छ।
यो वडाध्यक्ष गुप्ताविरुद्ध दायर भएको दोस्रो आपराधिक उपद्रव मुद्दा हो। अघिल्लो वर्ष जीतपुरका राजुराज गिरीको घरमा डोजर लगेर तोडफोड गरेको आरोपमा उनीमाथि आपराधिक उपद्रव मुद्दा लागेको थियो। बारा जिल्ला अदालतबाट दोषी ठहर भएपछि उच्च अदालतमा विचाराधीन मुद्दा किनारा नलाग्दै उनी फेरि उस्तै प्रकृतिको आरोपमा पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार बारा जिल्ला अदालतबाट सात दिनको म्याद लिएर गुप्तालाई हिरासतमा राखिएको छ। आइतबार पक्राउ परेका गुप्तालाई सोमबार अदालतमा पेश गरिएको थियो ।

