बाराको कलैयामा रहेको ए. प्लस हस्पिटल तथा ट्रामा सेन्टरका प्रमुख डाक्टर बिकेश कुमार पाण्डेयलाई धम्की दिई फिरौति माग गरेको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कलैया उप–महानगपालिका वडा नम्बर ५ घुसुकपुरका ४८ वर्षीय मदन मिश्र रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । कलैया उप–महानगरपालिका वडा नम्बर ५ घुसुकपुरका डा. बिकेश कुमार पाण्डेयलाई चैत दुई गते देखी अज्ञात व्यक्तिले पटक पटक फोन गरी ए. प्लस हस्पिटलमा बम राखिएको छ र फिरौती २० लाख नगद मागी धम्क्याएको आरोपमा प्रहरीले मिश्रलाई पक्राउ गरेको हो ।
पटक पटक फोन गरी धम्काएपछि डा. पाण्डेयले जिल्ला प्रहरी कार्यालय बारामा जानकारी गराएका थिए । प्रहरीले अनुसन्धान गर्दै जाँदा धम्क्याउने तथा फिरौती माग्ने कार्यमा संलग्न रहेको आरोपमा मिश्रलाई पक्राउ गरेको प्रहरी उपरिक्षक सन्तोष तामागंले बताएका छन् ।
विशेष प्रहरी टोलीले सीमावर्ती विहार राज्य मोतिहारी प्रहरीको सहयोगमा बाराको कलैया उप–महानगरपालिका वडा नम्बर १० शिवपुर चिउटाहाबाट मिश्रलाई पक्राउ गरेको हो ।
उनलाई शुक्रबार पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

