जेठ ०४, बारा । रौतहटको ईशनाथ नगरपालिकाले हरेक ठुला योजनाहरुको ठेक्का गोप्य रुपमा लगाएको खुलेको छ । सदरमुकाम गौरको एउटै व्यापारीलाई अनेक फर्मको नाममा गोप्य रुपमा ठेक्का दिएको पाईएको हो ।
यस भन्दा अगाडि पिएसआर खबरले प्रकाशन गरेको ईशनाथ नगरपालिकाले २ वटा ठेक्का गोप्य रुपमा आर्यन कन्सट्रक्सनलाई दिएको खुलासा भन्ने शिर्षकको समाचारमा आर्यन कन्सट्रक्सन पनि अहिले ठेक्का लिएकै व्यापारी सन्तोष केशरीको रहेको पाईएको हो ।
नगरपालिकाले प्रथम पटक २०८१ असोज ०१ गतेको मितिमा प्रकाशन गरेको फर्निचर आपूर्ति, मेशिनरी समाग्री आपूर्ती र मसलन्द सामाग्री आपूर्तिको ठेक्काको सूचना गोप्य राखी सेटिंगमा तीनवटै योजना संतोष केशरीलाई दिएको खुलासा भएको छ ।
विभिन्न व्यक्तिको नाममा दर्ता रहेको माँ मनोकामना ट्रेड कन्सर्न एण्ड सप्लायर्स लाई २८ लाख ९७ हजार ९ सय ९९ रुपैयाको फर्निचर आपूर्ति, न्यू इलेक्ट्रानिक्स प्लाजा लाई ४० लाख रुपैयाको मेशिनरी सामाग्री आपूर्ति र केशरी एण्ड सन्स प्रा.लि.लाई १ करोड रुपैया बराबरको मसलन्द सामाग्रीको आपूर्ति गर्न गोप्य रुपमा सूचना प्रकाशन गरी केशरीको जिम्मा लगाईएको छ ।
यसरी सार्वजनिक खरीद ऐन २०६३ र सार्वजनिक खरीद नियमावली २०६४ विपरीत कार्य गरी भ्रक्ष्टाचारलाई बढावा दिने कार्य गरेकाले ठेक्का प्रक्रियाको छानबिन गर्न जरुरी देखिन्छ ।

