जेठ ०६, बारा । राष्ट्रिय परिचयपत्र वितरणमा अत्याधिक भिड बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले आज मंगलबारदेखि सेवा प्रवाह थप गरेको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय बाराले एक एक प्रेस विज्ञप्ति जारी गर्दै थप सेवा विस्तार बारे जानकारी दिएको छ । बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई द्वारा हस्ताक्षरीत विज्ञप्तिमा सेवाग्राहीको चाप बढेपछि थप सेवा प्रवाह गरिएको उल्लेख गरिएको छ ।
विगत केही दिनदेखि राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप अत्याधिक बढेको हुँदा सेवाग्राहीहरुको सुविधा र सहजतालाई ध्यानमा राख्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन थप सेवा प्रवाह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनु भएको छ ।
थप गरिएको सेवामा अब राष्ट्रिय परिचयपत्रको विवरण संकलन सम्बन्धी सेवा सार्वजनिक विदाको दिन बाहेक प्रत्येक दिन बिहान ७ः३० बजेदेखि साँझ ७ः०० सम्म कायम हुने जनाईएको छ ।
त्यस्तै राष्ट्रिय परियचपत्रको कार्ड वितरणको कार्य प्रत्येक हप्ताको बिहीबार र शुक्रबार मात्र हुने सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनु भएको छ ।

