जेठ १८, बारा । बाराको कलैयास्थित यातायात व्यवस्था कार्यालयले अनलाइन समाचार पोर्टल pardafasdaily.com मा प्रकाशित एक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
“यातायात व्यवस्था कार्यालय कलैयामा घुसको रकम फालाफाल, अख्तियार दुरुपयोग मौन” शीर्षकमा प्रकाशित सो समाचारप्रति कार्यालयले आपत्ति जनाउँदै प्रेस काउन्सिल नेपाल, काठमाडौँमा औपचारिक उजुरी दर्ता गरेको छ । साथै, खण्डनको माग गर्दै पर्दाफास मिडिया प्रा.लि. लाई पत्राचार गरिएको जानकारी दिएको छ ।
कार्यालयका प्रमुख अविन्दर दासका अनुसार समाचारमा प्रस्तुत गरिएका आरोपहरू पूर्ण रूपमा तथ्यहीन, आधारविहीन र नियोजित रूपमा बदनाम गर्न खोजिएको देखिन्छ । उनका अनुसार, कार्यालयले कुनै पनि अनुपस्थित परीक्षार्थीको सट्टामा गैरकानुनी रूपमा ट्रायल सञ्चालन नगरेको, परीक्षा प्रक्रियामा लापरबाही नगरेको तथा मापदण्ड नपुगेका वा फेल भएका परीक्षार्थीलाई पास नगरिएको स्पष्ट पारेका छन् ।
ट्राफिक सुरक्षाका मापदण्ड उल्लंघन गर्ने वा उजुरी परेका व्यक्तिविरुद्ध सम्बन्धित ऐन कानुनअनुसार निरन्तर रूपमा कारबाही भइरहेको कार्यालयको दाबी छ ।
समाचारमा उल्लेख गरिएको “सिकिन्दर दास” नामक व्यक्ति कार्यालयको कुनै पनि कर्मचारी नभएको र कार्यालय वा प्रमुखसँग कुनै पनि प्रकारको व्यक्तिगत वा प्रशासनिक सम्बन्ध नरहेको पनि कार्यालयले प्रष्ट पारेको छ । यस्ता भ्रामक विवरणहरूले राज्यको महत्त्वपूर्ण राजस्व स्रोतमाथि प्रत्यक्ष प्रभाव पार्ने भन्दै कार्यालयले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
फौजदारी कसुर संहिता, २०७४ को दफा ९३ बमोजिम झूटो विवरण सार्वजनिक गरी व्यक्तिको सामाजिक प्रतिष्ठामा आँच पुर्याउने कार्य कानुनविपरीत ठहरिने कार्यालयले जनाएको छ । यस्तै, पत्रकार आचारसंहिता, २०७३ को परिच्छेद २, दफा ७ अनुसार समाचार प्रकाशन गर्नु अघि सम्बन्धित पक्षको प्रतिक्रिया लिनुपर्ने व्यवस्था विपरीत एकपक्षीय रूपमा समाचार सम्प्रेषण गरिएको देखिएको छ ।
कार्यालयले सो समाचार नियोजित रूपमा भ्रम फैलाउने उद्देश्यले लेखिएको ठहर गर्दै पत्रकार राघव साह र संवाददाता जितेन्द्र प्रसादको संलग्नता रहेको आरोप लगाएको छ। उनीहरू विरुद्ध छानबिन गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायहरूसमक्ष अनुरोध गरिएको छ।

