Tuesday, May 26, 2026

कलैयामा ए प्लस हस्पिटलको रक्तदान अभियान

ताजा / भरखरै प्राप्त

असार २१, बारा । चर्को गर्मीका बीच पनि मानवीय सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै कलैया उपमहानगरपालिका ३ मा अवस्थित ए प्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले शनिबार बिहान बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

अस्पताल परिसरमा बिहान ८ बजेदेखि १२ बजेसम्म सञ्चालन गरिएको कार्यक्रममा १४ जना महिला सहित ६८ जनाले रक्तदान गरेको अस्पतालले जनाएको छ ।

कार्यक्रमको औपचारिक उद्घाटन कलैया उपमहानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष अशोक तिवारीले गर्नुभएको थियो । अस्पतालका सीईओ सुनिल उपाध्यायले वडाध्यक्ष तिवारीलाई रक्त संकलन सामग्री हस्तान्तरण गर्दै कार्यक्रम प्रारम्भ गरेका थिए । उपाध्यायका अनुसार गर्मीका कारण रक्तदान गर्नेको संख्या घट्ने प्रवृत्ति रहँदै आएको छ । तर पनि स्वास्थ्यप्रति जागरुक व्यक्तिहरूको उल्लेखनीय सहभागिताले आजको कार्यक्रमलाई सार्थक बनाएको छ ।

रक्तदानपछि दाताहरूलाई अस्पतालका वरिष्ठ फिजिसियन डा. बिकेश पाण्डेय र स्त्री रोग विशेषज्ञ डा। नवनीत राज पाण्डेयले टीका तथा खादा लगाएर सम्मान प्रकट गर्नु भएको छ।

कार्यक्रममा उहाँहरु स्वयंले पनि रक्तदान गरेका थिए । उनीहरू सँगै पूनम पाण्डे, लक्ष्मी कुमारी मिश्र, रबिना महतो, जनमत पार्टीका केन्द्रीय सदस्य विकास सिंह, रुद्रदेव पाठक, समिना खातून, डा. आशिष यादव, पूजा यादव, रितु जैसवाल, चन्द्रमा कुमारी साह, रामबाबु पटेल, कविराज मगर र अनमोल पासवान लगायतले रक्तदान गरेका थिए ।

रक्त संकलन तथा व्यवस्थापनको प्राविधिक जिम्मेवारी रक्त सञ्चार शाखा कलैयाका इन्चार्ज राजबाबु गुप्ताको नेतृत्वमा रहेको ८ सदस्यीय टोलीले सम्हालेको थियो । इन्चार्ज गुप्ताले हाल मधेश प्रदेशका रक्त सञ्चार केन्द्रहरू गम्भीर संकटको सामना गरिरहेका बताए । गर्मीका कारण रक्तदाताको संख्या घटेको छ। नतिजा स्वरूप प्रादेशिक अस्पताल कलैयामै दैनिक १०–१५ बिरामीहरूलाई रगत नपाएर अन्य अस्पतालमा पठाउनुपरेको गुप्ताले बताए ।

गुप्ताका अनुसार दैनिक ३०–४० जना बिरामीहरू रगतको आवश्यकता लिएर आउँदा अस्पतालसँग रगतको पर्याप्त सञ्चिति नहुँदा धेरैलाई निराश भएर फर्कनुपर्ने अवस्था छ। विशेषगरी एनिमिया, थैलेसेमिया, शल्यक्रिया, सिजेरियन तथा दुर्घटनामा परेका बिरामीहरूको उपचारमा रगतको आवश्यकता अपरिहार्य हुन्छ ।

यस्तो भयावह अवस्थामा यस कार्यक्रम मार्फत संकलित ६८ पिन्ट रगत तत्कालीन आवश्यकता पूर्ति गर्ने मात्र नभई जिल्लावासीका लागि राहत बनेको छ। ए प्लस हस्पिटलको यस प्रयासले सामाजिक उत्तरदायित्वप्रति समर्पित स्वास्थ्य संस्थाको परिचय दिन सफल भएको छ ।  यस रक्तदान कार्यक्रमले “एक थोपा रगत, एक जीवनको आशा” भन्ने भावनालाई व्यवहारमा उतारेको स्थानीयहरुले बताएका छन् ।

 

spot_img

लोकप्रिय

Related Articles