नेपाल बाँचे नेपाली हाम्रो गौरव बाँच्ने छ
नेपाली भाषा संस्कृति कला साहित्य साँच्ने छ
यसैले आऊ नेपाललाई बलियो बनाऊँ
नेपाली हाम्रो श्रम र सिप स्वदेश मै लगाऊँ।
नेपाल भोको रहन्छ सितो एउटैले नखाए
नेपाल नाङ्गो रहन्छ टालो एउटैले नलाए
यसैले आऊ खाना र नाना सबैलाई पुऱ्याऊँ
नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ ।
पहाड भन्छ पसिना पाए म स्वर्ग भुलाउँथें
तराई भन्छ सिँचाइ पाए म सुन झुलाउँथें
के छ र गाह्रो होस्टेमा हैंसे सबैले मिलाए
सबैले चोखो श्रम र सिप स्वदेशमै लगाए ।
यो कस्तो देश सृष्टिकै वेला विज्ञान पाएको
देवता ऋषि मनुष्य मिली वेदान्त गाएको
मुन्धुम महान् धम्मपद महान् सम्पदा महान्
पूर्वले दियो विश्वकै लागि रहस्य विशाल
अपूर्व शिरोमुकुट हाम्रो सर्वोच्च हिमाल
ऋषिले सुने रहस्य यहीं ब्यूँझेर सखार
हे धन्य पुर्खा प्रकाशपुञ्ज वन्दना हजार ।
नेपाल आमा यो दिव्य आभा जगाऊँ कसरी
आलस्य निद्रा हीनता सारा भगाऊँ कसरी
आनन्द देऊ एकै र फेरि पसिना बगाऊँ
नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ ।
✍️ आनन्द राज पटेल
वृन्दावन नगरपालिका -६, हर्षाहा रौतहट

