कार्तिक २९, बारा । नेकपा एमाले बाराले आज संविधानको रक्षा, प्रतिगामी षड्यन्त्र र बढ्दो राजनीतिक अराजकता विरुद्ध कलैयामा जनप्रदर्शन र जनसभा गरेको छ ।
केन्द्रीय नेतृत्वको निर्देशन अनुसार देशभरका सबै जिल्ला सदरमुकाममा भएको प्रदर्शन अनुसार बाराको सदरमुकाम कलैयामा पनि प्रदर्शन गरिएको सहभागि नेताहरुले बताएका छन् ।
विभिन्न स्थानीय तहबाट र्यालीमा आएका नेता तथा कार्यकर्ताहरुले कलैया बजारमा जुलुस सहित प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीले संविधानमा हस्तक्षेप गर्ने प्रयास तथा राजनीतिक स्थिरतामाथि देखिएको खतरा बिरुद्ध नारासहित विरोध जनाएका छन् ।
एमालेका केन्द्रीय तथा जिल्ला नेतृत्वले सम्बोधन गर्दै संविधान कार्यान्वयनका क्रममा भएका राजनीतिक अस्थिरता, सत्ता–स्वार्थका आधारमा भइरहेका गठबन्धन चलखेल तथा शासन व्यवस्थामाथि परिरहेका दबाबका विरुद्ध जनता सडकमा उत्रिन बाध्य भएको बताएका छन् ।
नेतृत्वले देशमा उत्पन्न परिस्थिति सुधार गर्न सबै दलहरू जिम्मेवार बन्नुपर्ने र जनताको म्यान्डेट विपरीत भएका गतिविधि सह्य नहुने स्पष्ट चेतावनी दिएको छ । उनीहरूले संविधानको संरक्षण, राष्ट्रिय स्वाधीनता र राजनीतिक स्थिरताका लागि एमालेले निरन्तर सशक्त आन्दोलन अघि बढाउने बताएका छन् ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, युवा तथा महिला संगठनहरू, व्यवसायी लगायतको उल्लेख्य सहभागिता रहेको आयोजकले बताएका छन् ।

