मंसिर १४, बारा । पानी बिक्रीको रकम हिनामिना गरेका कारण जागिरबाट हटाइएको व्यक्तिगत रिसिबीको कारण पानी उद्योगका व्यवस्थापक रामकिशोर सिंहको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्न दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।
बारा जिल्लाको प्रसौनी गाउँपालिका ६ स्थित किरन बेभरेज नेपाल प्राइभेट लिमिटेड द्धारा संचालित नेपाल निर पानिका ५० वर्षीय व्यवस्थापक रामकिशोर सिंहलाई मंसिर ११ गते बेलुकी उद्योगबाट करिब २५ मिटर टाढा खाल्डोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । यस घटनामा संलग्न रहेको आशंकामा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका २२ मनियारी निवासी २१ वर्षीय राजनकुमार राम र सोही स्थानका ३२ वर्षीय प्रमोद साह तुरहालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता खेमप्रसाद नेपालका अनुसार राजनकुमार राम उद्योगमा चालकको रूपमा कार्यरत रहंदा उद्योगले तोकेको प्रतिजार पानीको बिक्री मूल्य ११० रुपैयाँ भन्दा बढी मूल्यमा बजारमा ११५ देखि १२० रुपैयाँसम्म बिक्री गरी व्यक्तिगत नाफा लिएको कुरा व्यवस्थापक सिंहले थाहा पाएपछि मंसिर १० गते राजनकुमारलाई कामबाट हटाइएपछि दुबैबीच गम्भीर विवाद चर्किएको थियो। मृतकले हिसाब–किताब मिलाई बक्यौता रकम समेत फर्छ्यौट गरिदिए पनि त्यसकै रिसिबीका कारण राजनकुमारले आफ्ना साथी प्रमोद साह तुरहासँग मिलेर हत्याको योजना बनाएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार दुवै अभियुक्तले वीरगञ्जमा बसेर जाँड–रक्सी सेवन गरेपछि योजनाबद्ध रूपमा उद्योग परिसर पुगेर फलामको धारिलो छुरा र ईंटको प्रयोग गरी सिंहको निर्मम हत्या गरेका थिए । घटनामा प्रयोग गरिएको रगत लागेको एक थान छुरा र एक थान ईंट घटनास्थलबाट बरामद गरिएको छ।
हत्या पश्चात फरार रहेका राजनकुमार रामलाई जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी बरिष्ठ नायब निरिक्षक दिपक बस्नेतको कमाण्डमा खटेको टोलीले पर्सा जिल्ला प्रहरीसँगको समन्वयमा छिपहरमाई गाउँपालिका ५ भिस्वा नाकाबाट भारत तर्फ भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो । त्यस्तै, प्रमोद साह तुरहालाई वीरगञ्ज महानगरपालिका २२ मा लुकिछिपी बसेको अवस्थामा घटनापछि करिब १६ घण्टाभित्र पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेको दुवै अभियुक्तमाथि बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

