चञ्चल कुमार झा ।। रौतहट । बैशाख १३। पाेखरीमा नुहाउन गएका एक जनाकाे पानीमा डुबेर मृत्यु भएको छ।रौतहटको दुर्गा भगवती गाउँपालिका–१ गंगापिपरास्थित ब्रह्मस्थान नजिकको पोखरीमा डुबेर एक पाँच वर्षीय बालकको मृत्यु भएको छ।मृत्यु हुने बालक स्थानीय गंगापिपरा निवासी गौरीशंकर साह कलवारका अन्दाजी पाँच वर्षीय छोरा कृष साह रहेका छन्।
इलाका प्रहरी कार्यालय गंगापिपराका अनुसार साँझ करिब ६ बजेतिर नुहाउन गएका कृष पोखरीमा डुबेर बेपत्ता भएका थिए। बालक बेपत्ता भएपछि स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले तत्काल खोजी अभियान सुरु गरेको थियो।
करिब ४५ मिनेटको निरन्तर खोजीपछि कृषलाई पोखरीबाट उद्धार गरिएको वडा अध्यक्ष प्रद्युमन चौधरीले जानकारी दिनु भएको छ। उद्धारपश्चात् कृषलाई उपचारका लागि स्थानीय अस्पतालमा प्रयास गरिए पनि चिकित्सकले मृत घोषणा गरेकाे प्रहरीले जनाएको छ।
घटनापछि बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरीले जानकारी दिएको छ।यस दुःखद घटनाले सिंगो गाउँ शोकमा डुबेको छ।

