Tuesday, May 26, 2026

घरमै पुग्ने भयो पासपोर्ट, रौतहटमा सेवा शुरु

ताजा / भरखरै प्राप्त

रौतहट , बैषाख २४।। जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला हुलाक कार्यालयको सहकार्यमा पासपोर्ट वितरण प्रणालीलाई थप सहज बनाउँदै अब सेवाग्राहीले घरमै पासपोर्ट प्राप्त गर्न सक्ने व्यवस्था लागू गरिएको छ।

विगतमा पासपोर्ट लिन जिल्ला प्रशासन कार्यालयमै पुग्नुपर्ने बाध्यता हटाउँदै नयाँ प्रणालीमार्फत सेवाग्राहीले पासपोर्ट कार्यालयबाट बुझ्ने वा हुलाकमार्फत घरमै प्राप्त गर्ने विकल्प रोज्न सक्ने व्यवस्था गरिएको हो।

आजदेखि औपचारिक रूपमा लागू भएको यस व्यवस्थाअनुसार घरमै पासपोर्ट चाहने सेवाग्राहीले आवेदन फाराम भर्दा रु. ५५ बराबरको हुलाक टिकट खरिद गरी प्रक्रिया पूरा गर्नुपर्नेछ। त्यसपछि पासपोर्ट तयार भएपछि जिल्ला हुलाक कार्यालय रौतहटले सम्बन्धित व्यक्तिको ठेगानामा सुरक्षित रूपमा पुर्‍याउनेछ।

जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले यो व्यवस्था सेवाग्राहीमैत्री सुधारको महत्वपूर्ण कदम भएको बताउँदै पासपोर्ट लिन पटक–पटक कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख देवनाथ यादवले हुलाक सेवामार्फत सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियानलाई यो व्यवस्थाले थप प्रभावकारी बनाउने बताउनुभयो। उहाँका अनुसार पासपोर्ट सुरक्षित र समयमै सम्बन्धित व्यक्तिको घरमै पुर्‍याइनेछ।

यो प्रणाली विशेषगरी ग्रामीण क्षेत्रका नागरिक, ज्येष्ठ नागरिक, महिला, विद्यार्थी तथा वैदेशिक रोजगारीका लागि तयारीमा रहेका सेवाग्राहीका लागि उपयोगी हुने अपेक्षा गरिएको छ। साथै, यसले कार्यालयमा हुने भीड घटाउने र हुलाक सेवाको प्रभावकारिता बढाउने विश्वास गरिएको छ।

spot_img

लोकप्रिय

Related Articles