रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिकामा बालबालिकालाई विपद् र जलवायु परिवर्तनबाट सुरक्षित बनाउने लक्ष्यसहित तयार गरिएको “बाल-केन्द्रित जलवायु परिवर्तन अनुकूलित जोखिम व्यवस्थापन रणनीति २०८३–२०८७ को मस्यौदामाथि छलफल कार्यक्रम सम्पन्न भएको छ ।
पिपल प्रमोट सेन्टर (पिपिसी) ले युनिसेफको सहयोग र गाउँपालिकाको समन्वयमा आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, युवा तथा बाल क्लबका प्रतिनिधिसहित विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रस्तुत रणनीतिले बागमती र झाँझ नदीका कारण प्रत्येक वर्ष हुने बाढी, डुबान तथा कटानसँगै शीतलहर र तातो हावा (लू) जस्ता जलवायुजन्य प्रकोपले बालबालिकामा पार्ने असरलाई मुख्य प्राथमिकतामा राखेको जनाइएको छ ।
छलफलका क्रममा बालमैत्री पूर्वसूचना प्रणाली विकास, विद्यालय र स्वास्थ्य संस्थालाई जलवायु उत्थानशील बनाउने, बाल संरक्षण सुदृढ गर्ने, वैकल्पिक सिकाइ प्रणाली विस्तार गर्ने तथा पोषण र WASH सेवाको निरन्तरता सुनिश्चित गर्नुपर्ने विषयमा विशेष जोड दिइएको थियो ।
वक्ताहरूले स्थानीय विकास योजना र विपद् व्यवस्थापनका हरेक कार्यक्रममा बालअधिकार, सुरक्षा र सहभागितालाई अनिवार्य रूपमा समेट्नुपर्ने धारणा राखे । गाउँपालिका प्रतिनिधिहरूले प्रस्तावित रणनीतिले विपद् पूर्वतयारी, समुदायस्तरीय सचेतना र संस्थागत समन्वयलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
युनिसेफ तथा पिपिसीका प्रतिनिधिहरूले बालबालिकालाई केवल सहायता लिने समूहका रूपमा नभई विपद् जोखिम न्यूनीकरणका सक्रिय साझेदारका रूपमा अघि बढाउन आवश्यक रहेको बताउनु भये ।
रणनीतिमा बालिका, दलित, अपाङ्गता भएका तथा सीमान्तकृत समुदायका बालबालिकाको आवश्यकता विशेष रूपमा समेटिएको जनाउँदै सहभागीहरूले यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह, विद्यालय, समुदाय र सम्बन्धित निकायबीच निरन्तर सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नु भये । कार्यक्रममा उठेका सुझाव समेटेर रणनीतिलाई अन्तिम रूप दिइने आयोजकले जनाएको छ ।

