महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मोहम्मद मनान खाँले जम्मा दुई मत ल्याए।
संघीय संसदको पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले महोत्तरीमा मात्रै होइन, यो उपनिर्वाचनमा देशैभर निराशाजनक मत ल्यायो।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको गृह जिल्लामै राप्रपाले मतमा सुधार गर्न सकेको देखिएन।
कन्काई नगरपालिका–६ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओलीले ४९३ मत ल्याएर निर्वाचित हुँदा राप्रपाका नारायणप्रसाद निरौलाले जम्मा २६ मत प्राप्त गरे।
यसपटक ४१ ठाउँमा उपनिर्वाचन भएको थियो। राप्रपाले ३२ ठाउँमा उम्मेदवारी दिएको थियो। सुदूरपश्चिमका धेरै स्थानीय तहमा उसले उम्मेदवारी दिएको थिएन।
उम्मेदवारी दिएका अधिकांश ठाउँमा दोहोरो अंक पूरा गर्न सकेन।
काठमाडौं महानगरपालिका–१६, कीर्तिपुर नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका, दैलेखको महाबु गाउँपालिमा लगायत धेरै मतदाता भएका ठाउँमा राप्रपा तीन अंकमा सीमित भयो। कतै पनि दस प्रतिशत कटाउन सकेन। निर्वाचन आयोगले दिएको जानकारी अनुसार कूल सदर मतको १० प्रतिशत कटाउन नसक्ने उम्मेदवारको जमानत जफत हुन्छ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–४, कञ्चनपुरको भीमदत्त नगरपालिका– ६ बाहेक काठमाडौंबाहिर पनि जमानत जोगिन सकेन।
मोलुङ गाउँपालिका–५ मा राप्रपा उम्मेदवार चन्द्रमणि दाहालले ३ मत प्राप्त गरे। सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मा राप्रपा उम्मेदवार रामकुमार यादवले ६ मत मात्रै ल्याए।
रौतहटको गढीमाई नगरपालिका–८ मा राप्रपा उम्मेदवार रामबालक साहले ४ मत ल्याए। गुल्मीको मुसिकोट नगरपालिका–१ मा ईश्वरी खातीले ५ मत ल्याए। जाजरकोटको कुसे गाउँपालिका–७ मा राप्रपा उम्मेदवार लालबहादुर खत्रीले ८ मत ल्याएका थिए।
निर्वाचन आयोगका अनुसार यस उपचुनावमा २ लाख २६ हजार ७ सय ९९ मतदाता थिए। त्यसमध्ये यसपटक ६२ प्रतिशत हाराहारी मतदाताले मतदानमा भाग लिएको आयोगले जनाएको छ।
आयोगकै आकडा पछ्याउँदा १ लाख ४० हजार ६१५ हाराहारी मतदाताले मतदान गरेका थिए। यसबाट २ प्रतिशत बदर मत घटाउने हो भने कूल सदर मत १ लाख ३७ हजार ८ सय ३ हुन आउँछ।
यो मतमा प्रमुख दलकै बर्चस्व देखिन्छ।
४० ठाउँमा उम्मेदवारी दिएको कांग्रेसले ४४ हजार ८ सय १६ मत प्राप्त गरेको देखिन्छ। एमालेले ४० ठाउँमै उम्मेदवारी दिएको एमाले ३७ हजार ४६ प्राप्त गर्यो। ३८ ठाउँमा उम्मेदवारी दिएको माओवादी केन्द्रले ३५ हजार ४ सय ९८ मत ल्यायो।
३१ ठाउँमा उम्मेदवारी दिएको राप्रपाले यस उपचुनावमा जम्मा ३ हजार ९३३ मत पायो।
मतदाताहरूले असफलसिद्ध भइसकेका पुराना दलहरूलाई नै जनमत दिएको राप्रपाले प्रतिक्रिया दिएको छ।
‘स्थानीय तहको उपनिर्वाचनको परिणामबाट फेरि पनि असफल दलहरूलाई मतदाताले छनौट गरेको देखियो,’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने।
राप्रपाले निर्वाचन नजिते पनि राजनीति नहारेको उनको भनाइ छ। स्थानीय तहको अघिल्लो निर्वाचनमा अहिले उपनिर्वाचन भएको अधिकांश स्थानमा राप्रपाका उम्मेदवार समेत नभएको र यसपटक सबै ठाउँमा उम्मेदवार खडा गर्नु नै सफलता भएको उनले बताएका छन्।
‘अनेकौ प्रतिकूलताका बाबजुद विगतमा उम्मेदवारी भएको अधिकांश ठाउँमा यसपटक मत बढाउनु सकारात्मक छ। अहिले प्राप्त परिणाम आलोचक र ईर्ष्यालुलाई त आलोचनाको विषय बन्न सक्छ तर परिणाम अपेक्षित नभए पनि लगभग हाम्रो सर्वेक्षण र अनुमानको वरिपरि नै छ,’ उनले भनेका छन्।

