Tuesday, May 26, 2026

नेपालमा कति चाहिन्छ आलु र प्याज ? कति हुन्छ आयात ?

ताजा / भरखरै प्राप्त

काठमाडौं – राष्ट्रिय कृषिगणना, २०७८ को नतिजाअनुसार नेपालका ६२ प्रतिशत घरपरिवार कृषिमा सङ्लग्न छ । वि.सं. २०६८ को तुलनामा कृषि पेसामा थप तीन लाख नागरिक आवद्ध छन् । देशभर किसानको संख्या ४१ लाख ३० हजार भन्दा बढी रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयको दाबी छ ।

बाहुल्य परिवार कृषिमा सङ्लग्न भए पनि अधिकांश नेपालीको भान्सामा आयातित आलु प्याजको तरकारी पाक्छ । उपभोग प्रवृत्ति हेर्दा हरेक नेपालीको भान्सामा आवश्यक आलु र प्याज नभए बिहान–बेलुकीको छाक नै नटर्नेजस्तो भइसकेको छ । भान्सामा आलुप्याजबाटै तरकारी र अचारसमेत बनाइन्छ ।

अधिकांश परिवारको भान्सामा आलुप्याज खपत हुने गरे पनि स्वदेशमै यसको उत्पादन अपर्याप्त छ । आवश्यक आलुप्याज हरेक महिना विदेशबाटै भित्रिने गरेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को चार महिना अवधिमा मात्रै नेपालमा विभिन्न देशबाट एक लाख ४४ हजार ८०० टन खाने आलु भित्रिएको छ । यति परिमाणको आलु आयातमा तीन अर्ब ६५ करोड ५९ लाख रुपैयाँ बराबर रकम बाहिरिएको छ ।

राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा ३४ लाख सात हजार मेट्रिकटन आलु उत्पादन भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा ३३ लाख २५ हजार २३१ मेट्रिकटन आलु उत्पादन भएको थियो । तर, नेपालमा आलुको वार्षिक माग ३६ लाख सात हजार २५६ मेट्रिकटन छ ।

तथ्याङ्क केलाउँदा नेपाललाई आन्तरिक उत्पादनको थप १० प्रतिशत मात्रै आयातित आलु आवश्यक पर्छ । विशेषगरी खाद्य प्रशोधन उद्योगले आयातित आलु बढी खपत गर्छन् । केन्द्रका सूचना अधिकारी तोयानाथ जोशीका अनुसार पछिल्लो समय होटल तथा रेस्टूराँमा प्रयोग हुने फ्रेञ्ज फ्राइ (तेलमा तारिएको आलु) बनाउने खालको आलु नेपालमा धेरै उत्पादन नहुने हुनाले आयात बढी भएको हो । फ्रेञ्ज फ्राइ हुनका लागि बढी स्टार्च बढी भएको आलु आवश्यक पर्छ ।

सरकारले चलाएको आलु मिसनले गर्दा उत्पादन बढेको जोशीको दाबी छ । कृषि क्षेत्रले कुल गार्हस्थ उत्पादन (जीडीपी)मा २४ प्रतिशत योगदान पुर्‍याउँछ । यसमा पनि आलुले मात्रै ५.९६ प्रतिशत योगदान गर्दछ ।

उत्पादन परिमाणका हिसाबले नेपालमा लगाइने बालीहरूमध्ये आलु तेस्रो बाली हो । क्षेत्रफलमा आधारमा सातौँ र उत्पादकत्वका हिसाबले दोस्रो बालीमा पर्छ । यसरी हेर्दा नेपालीको भान्साका लागि नेपालमै पर्याप्त आलु उत्पादन भएको देखिन्छ । तर, देशभित्र जति आवश्यक छ – त्यति उत्पादन भइरहेको छैन ।

मसलाबाली केन्द्रका सूचना अधिकारी जोशी पनि भान्सामा खपतकै लागि नेपालमै पर्याप्त आलु उत्पादन हुने गरेको बताउँछन् । उनका अनुसार नेपालमा प्रतिवर्ष/प्रतिव्यक्ति १११.८ किलोग्राम आलु खपत हुने गरेको छ ।

‘अहिले नेपालका भान्सामा ९० प्रतिशत नेपाली आलु नै खपत भइरहेको छ । १० प्रतिशतमात्रै आयात गर्नुपर्छ । हामीले प्रतिहेक्टर हालको भन्दा एक मेट्रिकटन आलु उत्पादन बढाउन सक्यौँ भने पनि पर्याप्त हुन्छ,’ उनी भन्छन् ।

अहिले नेपालमा प्रतिहेक्टर १७.०४ मेट्रिकटन आलु उत्पादन भइरहेको छ । पछिल्लो समय सबैभन्दा बढी आलु कोशी प्रदेशमा उत्पादन हुने गरेको छ । अहिले नेपालमा २१ प्रकारका आलु उत्पादन हुने गरेको छ ।

उत्पादन हुनेमध्ये अधिकांश आलुका प्रकार दैनिक घरायसी उपभोगयोग्य हुन् । उद्योगमा लागि या होटलतिर प्रयोग हुने आलु उत्पादन नेपालमा शून्यप्रायः नै छ । नेपालमा हालसम्म त्यस्तो आलु उत्पादन गर्ने प्रयास नै गरिएको छैन ।

कृषि अभियन्ता उद्धव अधिकारी बीउ ल्याएर नेपालमा उन्नत जातका आलुखेती गर्न सकिए पनि किसानलाई नाफा नहुने भएकाले उत्पादन नभएको बताउँछन् ।

सरकारले कृषि बालीमा प्रत्यक्ष रूपमा किसानलाई नै प्रभाव पार्ने वा प्रोत्साहन गर्ने खालका नीति–नियम नबनाएका कारण पनि यस्ता प्रकारका आलु उत्पादन नभएको उनको तर्क छ ।

‘किसानले बल्लतल्ल उत्पादन गरे पनि बजारदेखि लगानीसम्म डुब्ने भएकाले समस्या छ,’ अधिकारी भन्छन्, ‘केही समयदेखि त्यस्तो आलु उत्पादन भइरहेको छ, तर नेपालमा उत्पादन हुने आलुको लागत नै महँगो हुने भएकाले बजारमा पनि भाउ केही बढी पर्छ । आयातलाई कुनै दायराबिनै पूर्ण रूपमा खुला छाड्नाले पनि नेपाली आलु किसानलाई फाइदा भइरहेको छैन, त्यसैले यस्ता नगदे बाली फस्टाउन नसकेको हो ।’

विभिन्न सरकारी तथ्याङ्कमा आत्मनिर्भर देखाइए पनि नेपालमा खपत हुने धेरै आलु आयातित नै रहेको अधिकारीको दाबी छ । ‘सरकारी तथ्याङ्कमा विश्वास गर्ने आधार छैन, अर्बौं रुपैयाँको आलु आयात भइरहेको छ । यस्तो स्थिति देख्दादेख्दै आलुमा आत्मनिर्भर भएको सरकारी जिकिर पत्याउन सकिँदैन । तथ्याङ्क कसरी बनाइयो भनी सोध्दा सरकारी अधिकारीहरूबाट ठोस जवाफ पाइँदैन,’ अधिकारीले भने ।

आयातलाई रोके या आयात कम गरी नेपाली उत्पादनलाई जोड दिन सकेमात्रै उत्पादन क्षेत्र विस्तार हुने अधिकारीको भनाइ छ ।

spot_img

लोकप्रिय

Related Articles