Thursday, June 25, 2026

प्रभावमा आधारित मौसम पूर्वानुमान तथा तातोलहर–शीतलहर कार्यविधि सम्बन्धी कार्यशाला सम्पन्न

ताजा / भरखरै प्राप्त

रौतहट, असार २।। जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा नेपालका विभिन्न क्षेत्रमा तातोलहर तथा शीतलहरको प्रभाव बढ्दै गएको सन्दर्भमा यस्ता प्राकृतिक प्रकोपबाट जनधनको क्षति न्यूनीकरण गर्न तथा प्रभावकारी पूर्वतयारीका उपायहरू अवलम्बन गर्ने उद्देश्यले रौतहटमा कार्यशालाको आयोजना गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मधेश प्रदेश सरकार, CARE नेपाल, Institute of Himalayan Risk Reduction (IHRR) तथा अभियान नेपाल को संयुक्त आयोजनमा रोहतट जिल्लाको दुर्गा भगवती गाउँपालिकामा “प्रभावमा आधारित मौसम पूर्वानुमान एवं तातोलहर तथा शीतलहर सम्बन्धी कार्यसञ्चालन कार्यविधि (SOP) निर्माण तथा कार्यान्वयन” विषयक एकदिने कार्यशाला सम्पन्न भएको हो।
कार्यशालामा सहभागीहरूलाई प्रभावमा आधारित मौसम पूर्वानुमान (Impact-Based Forecasting) को अवधारणा, यसको आवश्यकता, स्थानीय तहमा यसको प्रयोग तथा तातोलहर र शीतलहरका कारण समुदायमा पर्न सक्ने सम्भावित प्रभावबारे जानकारी गराइएको थियो। साथै यस्ता विपद्का समयमा स्थानीय सरकार, स्वास्थ्य संस्था, सुरक्षा निकाय तथा समुदायले खेल्नुपर्ने भूमिकाबारे समेत विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न पालिकाका कर्मचारी, स्वास्थ्यकर्मी, विपद् व्यवस्थापन समितिका सदस्य, सुरक्षाकर्मी, गैरसरकारी संस्थाका प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले तातोलहर र शीतलहरका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीहरू बढी जोखिममा पर्ने भएकाले लक्षित समूहलाई केन्द्रमा राखेर पूर्वतयारी तथा उद्धार योजना बनाउनुपर्ने सुझाव दिएका थिए।
कार्यशालामा मौसम पूर्वानुमानलाई केवल तापक्रम वा मौसमको जानकारीमा सीमित नराखी त्यसबाट कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, जीविकोपार्जन तथा दैनिक जनजीवनमा पर्न सक्ने प्रभावको समेत विश्लेषण गरी समयमै सूचना प्रवाह गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो। यस प्रकारको प्रणालीले स्थानीय तहलाई जोखिमको पूर्वानुमान गरी आवश्यक तयारी गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
सहभागीहरूले स्थानीय तहमा तातोलहर तथा शीतलहर सम्बन्धी कार्यसञ्चालन कार्यविधि (SOP) तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेमा सम्भावित क्षति न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने बताएका थिए। साथै समुदायस्तरमा जनचेतना अभिवृद्धि, प्रारम्भिक चेतावनी प्रणालीको सुदृढीकरण तथा विभिन्न निकायबीचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो।
आयोजक संस्थाहरूले जलवायुजन्य विपद्को जोखिम दिनप्रतिदिन बढिरहेको अवस्थामा स्थानीय सरकार तथा समुदायको क्षमता अभिवृद्धि गर्दै प्रभावमा आधारित मौसम पूर्वानुमान प्रणालीलाई व्यवहारमा लागू गर्न यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने बताएका छन्। कार्यक्रमको बारे मौसम बिद मनिषा के सिले जानकारी गराउनु भएको थियोे भन्ने कार्यक्रम सन्चालन अकाश सिंहले गरेका थिए ।
कार्यशालाले जलवायु परिवर्तनबाट सिर्जित चुनौतीहरूको सामना गर्न स्थानीय सरकार, सरोकारवाला निकाय तथा समुदायबीच सहकार्य, समन्वय र तयारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

spot_img

लोकप्रिय

Related Articles