रौतहट ।। रौतहट जिल्लाको गौर नगरपालिका–८, पूरेनवा स्थित आधारभूत विद्यालयमा सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूलाई चप्पल तथा डस्टबिन वितरण गरिएको छ।
वडा अध्यक्ष जनार्दन साहको अनुमतिमा सामाजिक अभियन्ता सन्तोष पौडेल र स्थानीय युवा बिरेन्द्र साहको नेतृत्वमा रहेको टोलीले विद्यालयका कक्षाकोठामा फोहोर व्यवस्थापनलाई सहज बनाउन प्रत्येक कक्षामा एक–एक वटा डस्टबिन प्रदान गरेको हो। साथै नाङ्गो खुट्टा विद्यालय आउने ११५ जना विद्यार्थीलाई एक–एक जोर चप्पल वितरण गरिएको थियो।
कार्यक्रममा स्थानीय युवा जोकु साह, मुकेश साह, सुमित सुरिया तथा बिरेन्द्र साह लगायतको सक्रिय सहभागिता रहेको थियो।
विद्यालयका प्रधानाध्यापक गणेश यादवले उक्त कार्यको प्रशंसा गर्दै यसले विद्यार्थीहरूको स्वास्थ्य, सरसफाइ तथा विद्यालयप्रतिको आकर्षण बढाउन मद्दत पुग्ने बताए।
कार्यक्रमका क्रममा वडा अध्यक्ष जनार्दन साहले आफू अन्य कार्यक्रमका कारण केही समय उपस्थित हुन नसके पनि यस्ता सामाजिक कार्यहरू प्रशंसनीय रहेको बताए। उनले शिक्षा, स्वास्थ्य र सरसफाइजस्ता क्षेत्रमा हुने सकारात्मक अभियानमा स्थानीय तह र वडाहरूले आवश्यक सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे।
सामाजिक अभियन्ता सन्तोष पौडेलले समाज परिवर्तनका लागि युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यमा स्थानीय सरकारले थप चासो र सहयोग गर्नुपर्नेमा जोड दिए।
कार्यक्रम स्थानीय समुदाय, विद्यालय परिवार तथा युवाहरूको सहकार्यमा सम्पन्न भएको थियो।

