काठमाडौं, उपत्यका हिउँदको समयमा प्रदूषणको उच्चतम स्तरमा पुग्छ। लगभग ४० लाख जनसंख्या भएको यस शहरको वायुमण्डल मनसुनी वर्षा सकिएपछि मानवीय र मौसमी गतिविधिका कारण प्रदूषित हावाले भरिन्छ।
अहिले काठमाडौं विश्वका प्रदूषित शहरहरूको चौधौं स्थानमा छ, र यो हिउँदमा प्रदूषणको रेकर्ड तोड्दैछ। स्वीस कम्पनी आइक्यूएअरको अनुसार, काठमाडौंको हावा विशेष गरी संवेदनशील उमेर समूहका लागि अस्वस्थकर भएको छ। अघिल्लो वर्षहरूमा काठमाडौं विश्वकै प्रदूषित शहरको पहिलो स्थानमा पुगेको थियो।
प्रदूषणका कारण अस्पतालहरूमा श्वासप्रश्वास, आँखा र छाला समस्याबाट पीडित बिरामीहरूको संख्या बढिरहेको छ। यस वर्ष कात्तिक महिनामा काठमाडौं प्रदूषित शहरहरूको सूचीमा २५औं स्थानबाट ६औं स्थानमा उक्लिएको छ।
प्रदूषणको मुख्य कारण सवारीसाधन, धुलो र पश्चिमी वायुको प्रभाव हो। चिसो मौसममा प्रदूषणको स्तर अझ बढी बढ्ने गर्छ। जनस्वास्थ्यविद्हरूका अनुसार, प्रदूषणको असर फोक्सो र स्वासप्रश्वास प्रणालीमा सबैभन्दा बढी पर्छ, जसका कारण श्वासप्रश्वास र हृदयघातको जोखिम बढ्दो छ।
चिकित्सकहरूले हिउँदको प्रदूषित हावाबाट बच्न मास्कको प्रयोग गर्न र स्वच्छ हावामा रहन सुझाव दिएका छन्।

