कवानपुर । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ मा १०२ वर्षका गोविन्द लामिछानेले मतदान गरेका छन् । वडाध्यक्ष पदका लागि आइतबार भइरहेको मतदानमा उनी सहभागी भएका हुन् । उनले वडाको भोर्लेस्थित विष्णुज्योति आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कूल आठ हजार ५३ मतदातामध्ये दिउँसो १ बजेसम्ममा चार हजार दुई सय २३ ले मतदान गरिसकेका छन् । विष्णुज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा एक हजार आठ सय ४३ मत खसेको छ भने वडाको सिग्रेनीस्थित प्रतिभा आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा दुई हजार तीन सय ८० मत खसेको मतदान अधिकृत सरोज पौडेलले जानकारी दिए । –रासस

