फिल्म ‘लक्का जवान’पछि अभिनेता दीलिप रायमाझी र सलोन बस्नेतले फेरि सहकार्य गरेका छन्। उनीहरूको नयाँ फिल्म ‘रंगी’को छायांकन सफलतापूर्वक सम्पन्न भएको छ। छायांकनको २६ औं दिनमा फिल्मको ‘प्याकअप’ भएको हो। निर्देशक सुरेश न्यौपानेले एक महिनाको सेड्युल राखिएको भएपनि निर्धारित समयभन्दा चार दिनअघि नै फिल्मको छायांकन पूरा भएको जानकारी दिएका छन्।
शुक्रबार बनेपामा अवस्थित चण्डेश्वरी मन्दिरमा फिल्मको एक गीत खिचिएको थियो। कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको ‘छ भने माया’ बोलको गीतमा दीलिप र सलोनसहित फिल्मकी मुख्य अभिनेत्री नम्रता श्रेष्ठ (पूर्वमिस नेपाल) र बाल कलाकार आयुषी ढकालले नृत्य गरेका छन्। गीतमा दुर्गेश थापाको शब्द र संगीत छ भने आनन्द कार्की र सुजता केसीको गायन छ।
फिल्मको छायांकन सकिएसँगै यसको माल्टा प्रदर्शन अधिकार बिक्री भएको छ। मगवोर्ट प्रोडक्सनले फिल्मको माल्टा राइट्स खरिद गरेको हो। यसअघि मध्यपूर्व र मलेसियामा पनि फिल्मको प्रदर्शन अधिकार बिक्री भइसकेको छ। यसरी विदेशमा फिल्मको राम्रो माग देखिएको छ, जुन निर्मातालाई ठूलो राहत पुर्याउने कुरा हो।
फिल्ममा उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय छ। सक्षम सुवेदीको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत तथा कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी छ। फिल्मको प्रदर्शन मिति भने हालसम्म निश्चित भएको छैन।

