काठमाडौं – नासाले आफ्नो अन्तरिक्ष अभियानका लागि पानीमुनि पौडी खेल्ने रोबोट विकास गरेको छ। यी रोबोटहरूले बृहस्पति ग्रहको चन्द्रमा युरोपा र शनिको चन्द्रमा एन्सेलाडसको भ्रमण गर्नेछन् र हिउँमुनि दबिएको समुन्द्रमा डुब्ने छन्।
नासाको जेट प्रोपल्सन प्रयोगशालाले तयार पारेका यी कन्सेप्ट रोबोटहरूले पानीमुनि अन्वेषण गर्ने काम गर्नेछन्। यी रोबोटहरूले नासाको पृथ्वी बाहिर जीवनको सम्भावनाको खोजीमा महत्वपूर्ण भूमिका खेल्ने छन्। बृहस्पतिको युरोपा र शनिको एन्सेलाडस चन्द्रमामा नासाको चासो विशेष छ र यसअघि नै युरोपा क्लिपर मिसन पठाइसकेको छ।
नासाले यस रोबोटको नाम “सेन्सिङ विथ इन्डिपेन्डेन्ट माइक्रो स्विमर्स (एसडब्ल्यूआईएम)” राखेको छ। यो १६.५ इन्चको रोबोट करीब २ किलोग्राम वजनको छ। भविष्यमा यसका वास्तविक संस्करण १२ सेन्टिमिटर लामो हुनेछन्। नासाले यस्ता धेरै रोबोट बनाउने योजना बनाएको छ जसले चन्द्रमामा पानीमुनि अवतरण गरेर अनुसन्धान गर्नेछन्।
यी रोबोटहरू चन्द्रमाका महासागरीय रासायनिक संरचना पत्ता लगाउने र तापक्रम मापन गर्ने काममा प्रयोग हुनेछन्। विशेष उपकरण र जीपीएस प्रणालीबाट सुसज्जित यी रोबोटहरूले पानीमुनि नेभिगेट गर्न र समुन्द्रको संरचना थाहा पाउन सक्षम हुनेछन्। यद्यपि, यो एक कन्सेप्ट मात्र भएको र प्रोटोटाइपको रूपमा परीक्षण गरिएको बताइएको छ।
नासाको विश्वास छ कि बाहिरी सौर्यमण्डलका युरोपा, एन्सेलाडस, टाइटन र एरियल जस्ता चन्द्रमामा पानीको सङ्केत रहेको छ, जसले यहाँ जीवन सम्भव हुनसक्छ भन्ने संकेत दिन्छ।

